दिल्ली हिंसा, मारिनेको संख्या ३२ पुग्यो

 

एजेन्सी, फागुन १५ ।

नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३२ पुगेको छ ।

समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा मारिनेको संख्या ३२ पुगेको जनाएको हो ।

दिल्लीको गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जना र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा दुई घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ ।

चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा मच्चाइएको हिंसामा परी सयौं मानिस घाइते भएका छन् ।

नागरिकता संशोधन कानुनविरुद्ध सडक अवरुद्ध गर्न पुगेका प्रदर्शनकारीविरुद्ध उक्त कानुनको समर्थकहरु उत्रिएपछि आइतबार हिंसा भड्किएको थियो । त्यसयता भइरहेको प्रदर्शनमा मारिनेको संख्या बढ्दै गएको हो ।