डेंगु रोग नियन्त्रणका लागि पोखरामा स्वास्थ्य शिविर

 

पोखरा, भदौ १५ ।

गण्डकी प्रदेश नेपाल प्रहरी अस्पताल पोखरामा आजदेखि डेंगु रोग नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर प्रारम्भ भएको छ ।

नेपाल प्रहरी अस्पताल काठमाण्डौं र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा आजदेखि प्रहरी कर्मचारीका लागि डेंगु रोग नियन्त्रण सम्बन्धी स्वास्थ्य शिविर प्रारम्भ भएको हो ।

एडिस नामक लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगबाट हाल देश भरिका विभिन्न जिल्लामा संक्रमितहरुको संख्या बढ्दो रहेको अवस्थामा उक्त रोगबाट कास्की जिल्लामा प्रहरी कर्मचारी समेत संक्रमित हुन थालेपछि गण्डकी प्रदेश प्रहरी कार्यालयको विशेष पहलमा नेपाल प्रहरी अस्पताल काठमाण्डौंबाट समेत चिकित्सकहरु खटिई प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण एवं संक्रमितहरुको उपचार भईरहेको छ ।

स्वास्थ्य शिविरलाई थप प्रभावकारी बनाउन आजै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले शिविरको स्थलगत अवलोकन गरि डेंगुबाट संक्रमित प्रहरी कर्मचारीसंग भेट गर्नुका साथै उपचार एवं शिविरमा खटिएका चिकित्सकहरुलाई प्रहरी कर्मचारीको स्वास्थ्यबारे संवेदनशिल रुपमा प्रस्तुत हुन निर्देशन दिएको प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।