ट्रम्प भन्छन्–उत्तर कोरियालाई ध्वस्त पारौं

पोखरा, असोज ४ ।
अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पार्नुको विकल्प नभएको बताएका छन् । राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै उनले उत्तर कोरियाको आणविक हतियार र ब्यालिस्टिक मिसाइलको अविवेकी खोजीले सम्पूर्ण विश्वलाई नै चुनौती दिएको भन्दै त्यसको समाधान तत्काल खोज्नुपर्ने बताए ।
‘उत्तर कोरियाको आणविक कार्यक्रमले सम्पूर्ण मानवजातिकै अकल्पनीय क्षति हुने खतरा झन् बढेको छ, उनी भन्छन्–यस्ता काम निरन्तर गरे प्योङयाङलाई पूर्ण रूपमा ध्वस्त गर्नुको विकल्प छैन ।’ राष्ट्र संघको नेतृत्वमा यस सम्मेलनमा सहभागी विश्वका शक्तिशाली मानिसहरू विश्वका खराब र जटिल समस्याको समाधान गर्न सक्षम भएको उनको भनाई छ ।
‘विश्वमा भएका जल्दाबल्दा समस्याबारे राष्ट्रसंघ सबैभन्दा बढी जिम्मेवार छ, उनले भने–विश्वभरका मानिसको आत्मसम्मान र स्वतन्त्रताको प्रभावकारी वकालतका लागि राष्ट्रसंघ सबैभन्दा बढी जिम्मेवार छ ।’