चौतर्फी दबाबपछि कोरोना आशंका गरिएका युवाले पाए प्रादेशिक अस्पताल बुटवलमा भर्ना

 

नवलपरासी, चैत ७ ।

उपचारको लागि तीन दिनदेखि भौंतारिएका नवलपरासीका ३५ वर्षिय युवकलाई अन्ततः प्रादेशिक अस्पताल, बुटवलले भर्ना लिएको छ ।

कोरोना भाइरसको संक्रमण भएको आशंकामा चिकित्सक र अस्पताल प्रशासनबाटै अपहेलित ती युवकलाई चौतर्फी दबाबपछि बुटवल अस्पतालले भर्ना लिएको हो ।

बिरामीको नमुना परीक्षणको लागि आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ ।

जिल्ला अस्पताल परासी र प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमितलाई उपचार गर्नकै लागि आइसोलेसन वार्ड तयार गरिएपनि चिकित्सकहरुले भर्ना लिन नमानेका हुन् ।

कोरोना संक्रमितलाई उपचार गर्दा लगाउनुपर्न आवश्यक स्वास्थ्य किट र उपकरण नभएको हुनाले आफूहरुले बिरामीलाई छुन नमानेको जिल्ला अस्पताल परासीका डाक्टर पवन अग्रहरीले बताए ।

सञ्चार माध्यमको चौतर्फी दबाबपछि बिरामीलाई भर्ना लिन प्रादेशिक अस्पताल बुटवल बाध्य भएको हो ।

रामग्राम नगरपालिका–१६ हकुइका ट्रक चालक ती युवकलाई रुघाखोकी र ज्वरो आएपछि तीन दिनअघि परासीको एक क्लिनिक पु¥याइएको थियो ।

त्यहाँबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाएपछि अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।

प्रादेशिक अस्पतालमा सामान्य चेकजाँच पछि कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाइयो ।

त्यहाँबाट काठमाडौं पठाइएका बिरामीलाई आफन्तले कलंकीको एक निजी अस्पतालमा पु¥याए ।

उक्त अस्पतालले पनि भर्ना लिन नमानेपछि निराश भएका विरामी र आफन्त हिजो परासी फर्किएका थिए ।

परासी अस्पतालबाट बुटवल जान भनेपछि मध्यराति बुटवल पुगेका बिरामीलाई अन्नतः अस्पतालले भर्ना लिएको हो ।
(ईमेजखबरबाट साभार)