को हुन्, मार्समेलो? जसका कारण तोडफोड भयो दरबारमार्गको क्लबमा।

२८ मंसिर, काठमाडौं । दरबारमार्गको नाइट क्लबमा भएको तोडफोडको कारक बनेका अमेरिकी डीजे मार्समेलो आफैं त्यस्ता अनौठा व्यक्ति हुन् जसको अहिलेसम्म वास्तविक परिचय खुलेको छैन । आखिर को हुन् ती ‘छुपारुस्तम’ ? दरबारमार्गको घटनाले यी अमेरिकी डीजेप्रति धेरै मानिसको ध्यान तानिएको छ ।

बुधबार राति काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा डीजे मार्समेलो आउने भनिएको थियो । उनी आउने थाहा पाएपछि सयौं दर्शकले प्रतिव्यक्ति ४ हजार रुपैयाँ तिरेर क्लबसम्म पुगे ।

तर, मध्यराति १ बजेसम्म पनि उनी उपस्थित भएनन् । बरु आयोजकले स्वास्थ्यका कारण उनी आउन नसक्ने जानकारी दिए । त्यसपछि आक्रोशित भीडले क्लबमा तोडफोड ग¥यो ।

क्लबमा तोडफोड भएको थाहा पाएपछि उनै डीजे मार्समेलोले फेसबुुकमार्फत काठमाडौं आउन नपाएकोमा माफीसमेत मागेका छन् ।

 

को हुन् मार्समेलो ?

आखिर यी डीजे मार्समेलो को हुन् ? जसका कारण काठमाडौंको एक क्लबमा बुधबार मध्यराति तोडफोड भयो ?

मार्समेलो अन्तर्रा्ष्ट्रिय डीजे हुन् । विश्वभरका उनका लाखौं फ्यान छन् । यद्यपि, उनको वास्तविक परिचय भने कसैलाई थाहा छैन । उनी मार्समेलोको रुपमै चर्चित छन् ।

तर, कतिपयको यो अनुमान छ कि उनी अमेरिकी डिजे क्रिस्टियन कम्स्टक हुन् । जो ‘डटकम’ भनेर पनि चिनिन्छन् । मार्समेलो र डटकमको स्टाइयल एउटै हुने गरेकाले दुवै एउटै व्यक्ति हुन् भन्ने अनुमान गरिएको छ ।

केही अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले मार्समेलो नेदरल्याण्डका डिजे मार्टिन गारिक्स वा सम भोगेल हुन सक्ने समेत अनुमान गरेका छन् ।

सन् २०१६ र २०१७ मा डिजे म्यागजिन नामक पत्रिकाले निकालेको उत्कृष्ट एक सय डिजेको सूचिमा मार्टिन नम्बर १ मा परेका थिए । भोगेल जौजको रुपमा परिचित छन् । उनी अमेरिकी डिजे हुन् ।

 

किन लुकाए परिचय ?

मार्समेलो सार्वजनिक रुपमा देखा पर्दा सधैं मुखुण्डो आकारको माक्स लगाउने गर्छन् । सामाजिक सञ्जालमा उनले पोष्ट गरेका तस्वीर र भिडियोहरुमा समेत उनले मुखौटो लगाउने गरेका छन् ।

मुखौटो लगाएर प्रस्तुति दिने दुई चर्चित डिजे डेड माउस र ड्राफ्ट पंकबाट मार्समेलो प्रभावित भएको बताइन्छ ।

रुसी संगीतकार जेड्सको ‘ब्यूटिफूल नाउ’, अमेरिकन इलेक्ट्रोनिक डान्स डिजे ज्याकको ‘ह्वेर आर यू नाउ’ र आफ्नो ‘एलोन’ नामक ट्र्याक सार्वजनिक गरेपछि उनी चर्चामा आएका हुन् ।

मार्समेलोलाई छोटो समयमा अन्तर्रा्ष्ट्रिय रुपमा चर्चामा आएका डिजे मानिन्छन् । सन् २०१५ मार्च ३ तारिखमा उनले आफ्नो पहिलो गीत ‘वेब्ज’ आफ्नो साउण्ड क्लाउण्ड पेजमा अपलोड गरेका थिए ।

उनको साउण्ड क्लाउड पेजमा ८ लाख १३ हजार फलोअर्स छन् भने फेसबुकमा उनलाई पछ्याउने ५० लाख छन् । त्यस्तै, इन्स्टाग्राममा उनलाई फलो गर्ने ५१ लाख छन् र ट्वीट्मा ७ लाख ४५ हजारले उनलाई फलो गर्छन् ।

मार्समेलोले सन् २०१६ मा डिजे म्यागजिनको उत्कृष्ट १०० डिजे मध्येको २८ औं नम्बरमा परेका थिए ।

उनलाई पहिलोपटक नेपाल ल्याउने भन्दै डेजाभु नाइट क्लबले दर्शकहरुबाट करिब ४० लाख रुपैयाँ उठाएको थियो, तर उनी नआएपछि क्लबमा ठूलो क्षति पुग्ने गरी तोडफोड भयो ।