गण्डकीमा लोकदोहोरी प्रतियोगिताः स्याङजालाई हराउँदै बागलुङ विजयी

पोखरा, चैत १ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सम्पन्न लोकदोहोरी प्रतियोगितामा स्याङजालाई हराउँदै बागलुङ विजयी भएको छ । शनिबार पोखरा पर्यटन बोर्डको सभाहलमा भएको फाइनलमा प्रतिष्ठान स्याङजाका प्रकाश पराजुली र सपना रोकाको टीमलाई बागलुङका प्रतिस्पर्धी सुमन खड्का र शर्मिला विसीको टीमले हराएका हुन् ।

प्रतियोगिता जित्दै बागलुङले एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पारेको छ । उपविजेता बनेको स्याङजाले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा लमजुङ तेश्रो बन्यो । उसले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाएको छ । लमजुङका लागि प्रशान्त तामाङ र प्रिती गिरीको टिम प्रतिस्पर्धामा उत्रिएका थिए । लमजुङले तनहुँलाई पराजित गरेको थियो । तनहुँले सान्तवना पुरस्कारमा चित्त बुझाउनु पर्यो । उसलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरियो ।

गण्डकी प्रदेशका ९ जिल्ला कास्की, तनहुँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत ,म्याग्दी, गोरखा र नवलपुर जिल्लाबिच भएको प्रतिस्पर्धामा उत्कृष्ट गायक गायिकाको पुरस्कार गोरखाका चित्र गुरुङ र देवी आलेले हात पारे । अनुशासित गायकमा उमेश अधिकारी र हिरण थापामगरलाई पुरस्कार प्रदान गरियो । हाउभाउ सहितको मौलिक प्रस्तुतिमा सिमा शाही र हिरा किसान अब्बल ठहरिए ।