‘कोरोना’ त्रासः अमेरिकाका विभिन्न राज्यमा आपत्काल घोषणा, वासिङ्टनमा १० जनाको मृत्यु

 

एजेन्सी, फागुन २२ ।

अमेरिकाको क्लालिफोर्निया राज्यमा ‘कोरोनाभाइरस’का कारण पहिलोपटक एक व्यक्तिको मृत्यु भएपछि आपत्काल घोषणा गरिएको छ ।

राज्यका गभर्नर ग्याभिन न्यूसमले कोरानाभाइरसको संक्रमण राज्यमा नबढोस् भनेर आपत्काल घोषणा गरिएको बताए ।

क्यालिफोर्नियामा ९ हजार ४०० जनालाई निगरानीमा राखिएको छ ।

अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । वासिङ्टन राज्यमा मात्रै १० जनाको मृत्यु भएको हो । १६ राज्यमा १५० जना संक्रमित भेटिएको पुष्टि भएको छ ।

यसैबीच, वासिङ्टन र फ्लोरिडा राज्यले पनि कोरोना नियन्त्रणका लागि भन्दै आपत्काल घोषणा गरेका छन् ।

‘ह्वाइट हाउस’ले भाइरसका लागि राष्ट्रव्यापी परीक्षण विस्तार गर्ने जनाएको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चिकित्सकले निर्देशन दिए कुनैपनि अमेरिकीलाई संक्रमणको परीक्षण गरिने बताए ।

पछिल्लो समय चीन भ्रमण गर्ने विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ ।

कोरोनाभाइरसका कारण विश्वव्यापीरुपमा तीन हजारजनाभन्दा बढीको मृृत्यु भएको छ । ९२ हजार संक्रमित भेटिएका छन् । चीनमा मात्रै यो संख्या ८० हजार रहेको छ ।