कोरोना असरः अमेरिकाले ब्याजदर शून्यमा झार्यो, सात अर्बको आर्थिक सहायता कोष स्थापना

 

एजेन्सी, चैत्र ३ ।

विश्वभर फैलिएको कोरोना भाइरसले अर्थतन्त्र शिथिल बनाउन थालेपछि अमेरिकाले ब्याजदर शून्यमा झार्ने घोषणा गरेको छ ।

कोभिड–१९ सँग लड्न भन्दै अमेरिकी केन्द्रीय बैंक (फेडेरल रिजर्भ) ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै करिब शून्यमा झारेको हो । बैंकको निर्णयप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुशी व्यक्त गरेका छन् ।

अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न ७ खर्ब डलरको आर्थिक सहायता कोष स्थापना गरेको पनि बैंकले जनाएको छ । यो कदम बेलायत, जापान, यूरोक्षेत्र, क्यानडा र स्वीट्जरल्याण्डसँग गरिएको सहकार्यको एक भाग भएको जनाइएको छ ।

बैंकका प्रमुख जेरोम पावेलले महामारीले अमेरिकाको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो योजना ल्याइएको बताए । ब्याजदर शून्यदेखि ०.२५ को बीचमा राख्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

गत मार्च ३ मा पनि बैंकले आपतकालीनरुपमा ब्याजदर शून्य दशमलव ५ प्रतिशत अंकले घटाउने निर्णय गरेको थियो । यसलाई सन् २००८ वित्तीय संकटयता गरिएको पहिलो आपतकालीन ब्याजदर कटौतीको निर्णय भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यो घोषणासँगै अमेरिकाले अब अरु मुलुकका केन्द्रीय बैंकसँग वाणिज्य बैंकहरुलाई डलरको उपलब्धता बढाउन सहकार्य गर्ने पनि उल्लेख गरेको छ ।