कास्की प्रहरीले थाल्यो थुनुवाको स्वास्थ्य परीक्षण

पोखरा, माघ ८ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अपराध आरोपमा थुनिएका आरोपीहरु र आफ्ना कर्मचारीको निशुल्क स्वास्थ्य परीक्षण गराएको छ । सोमबार प्रहरी कार्यालय परिसरमा स्वास्थ्य परीक्षण शिविर राखिएको हो । शिविरमा १ सय ९ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी अस्पतालका प्रहरी नायब उपरीक्षक डा. नबिन कुमार चौधरीको संयोजनमा ६ जना चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेका कास्की प्रहरी प्रबक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक अशोक सिंहको विशेष पहलमा आयोजित कार्यक्रममा थुनुवा तथा प्रहरी कर्मचारीहरु स्वास्थ्य रहनको लागी अपनाउनुपर्ने उपाय र प्रेसर, सुगर लगायत रोगीहरुलाई खानपानको बारेमा जानकारी गराईएको थियो । प्रदेश नं ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमल सिहं बमको निर्देशनमा कार्यक्रम संचालन भएको प्रहरीले जनाएको छ ।