कश्मीरमा सुरक्षा कडाईमा केही खुकुलो, आजदेखि विद्यालय तथा कलेज खुल्ने

 

एजेन्सी, साउन २५ ।

जम्मू–कश्मीरले पाएको विशेषाधिकार खारेजसँगै बढाइएको सुरक्षा व्यवस्थालाई केही खुकुलो बनाइएको छ ।

जम्मू कश्मीरबाट अनुच्छेद ३७० हटेको चार दिनपछि स्थानीयले राहत महसुस गरेका छन् । धारा १४४ हटाइएपछि आजदेखि जम्मू जिल्लामा विद्यालय तथा कलेजहरु खुल्ने भएका छन् ।

धारा १४४ अन्तर्गत प्रशासनले कश्मीरका संवेदनशील मानिएका क्षेत्रमा कफ्र्यू जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको थियो । जम्मु जिल्लाका डीएम सुष्मा चौहानले हिजो जम्मु नगरपालिका सीमासम्म सबै क्षेत्रबाट धारा १४४ हटाइएको घोषणा गर्नुभएको थियो ।

यसअघि प्रशासनले राज्यमा बिहान ११ देखि साँझ ५ बजेसम्म बजार खोल्न निर्देशन पनि दिएको थियो । हिजो नमाजका लागि मानिसहरुलाई स्थानीय मस्जिदहरुमा जान छुट दिइएको थियो ।

राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले कुनै पनि किसिमले कश्मीरी जनतालाई दुःख हुने काम नगर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । मुस्लिम धर्मावलम्बीहरुको चाड इदका लागि आवश्यक सबै तयारी पूरा भएको अधिकारीहरुले जनाएका छन् ।

कश्मीरको अवस्था सामान्य बन्दै गएकाले इद सानदारका साथ मनाइने राज्यपाल सत्यपाल मलिकले बताएको बिबिसीले जनाएको छ ।