एउटी प्रेमिकाको हृदयविदारक पत्र–’तिम्रै सिन्दुरले रंगिएर मर्ने मन छ, पूरा गर्दिन्छौ ?’

प्रिय, प्रियतम ।
खै कहाँबाट सुरु गरौं गन्तव्य विहिन जिन्दगीका कथा । जब तिमी मेरो सम्पर्कमा आयौ, तब मेरो ओइलिएको जिन्दगी फेरि पालुवा पलाउन लागेको मात्रै के थियो । तिमी मेरो सारा संसार भयौ, बाँच्ने एक आधार । कति रमाइला थिए, ति दिनहरु, ति पलहरु । कहिले काहीँ सँगै छौं जस्तो लाग्छ तर होसमा आएपछि आफुलाई एक्लो पाउँछु । अपसोच त यती मात्र लाग्छ, न त तिमीले मेरो छट्पटाइको महसुस गर्न सकेका छौ, न त एयरपोर्टमा विदाइको अन्तिम घडिमा तिमीलाई देख्न पाँए । दुःख र सुःख के हो ?, विछोड भएपछि मात्र थाहा हुँदो रहेछ । कति धेरै माया गर्थे तिमीलाइ । आज भोली यो जिन्दगी पनि फिक्का फिक्का लाग्छ, अनि आँसु पनि पानी सरी बग्दो रहेछ । जति नै सम्हाल्न खोजे पनि सकिरहेकी छैन मैले तिम्रो याद भुलाउन ।. आधा चाहना त दिलमा नै चिहान बनेका छन् । अझै पनि आधा चाहना निभ्न लागेको दियो झै धिपधिप बलिरहेका छन् ।

हाम्रो सम्बन्धको सुरुवात भएको त त्यति धेरै भएको थिएन तर मेरो लागि भनेर ६ वर्षसम्म पछि लाग्नेहरुको कुनै वास्ता नै लागेन, लाग्यो केवल तिम्रो मात्रै । जिन्दगीमा पहिलो पटक तिमीलाइ भेटेको थिए खुसीको त कुनै सिमा नै थिएन । अनि मनमा अनेक खालका सपना । दोस्रो भेटको लागि म यति आतुर भए कि म आंफैलाई थाहा छैन । सायद म धेरै तनावमा भएर होला भेट्ने बित्तिकै अँगालो हालेर यति धेरै रुन मन थियो कि–अहिले सम्झँदा पनि मेरो आँसु थामिएको छैन तर म विवश थिए, अरुको अगाडी रुन सकिन । जुन ठाउँमा जानको लागि मैले प्रस्ताव गरें तिमी मन्जुर भयौ तर किन हो सधै खुसी हुने रमाउने ठाउँमा पुग्दा पनि खुल्न सकिरहेकि थिइन । धेरै जोडिहरु आ–आफ्नै दुनियाँमा व्यस्त थिए तर हामी खै कता–कता हरायाँै । मलाइ डाँको छोडेर रुन मन लाग्यो । तर सकिन, हुन त तिम्रो लागि त्यो कुनै ठुलो थिएन होला । तर मेरो लागि त्यै दिन नै अभिषाप बनिरहेको छ । तिम्रो लागि भनेर आफ्ना जन्म दिने आमा बाबाको कुरा सुनिन । अनि उहाँहरुलाई भन्दा तिमीलाई नै बढि विश्वास गरें, के त्यो नै मेरो गल्ति थियो ? मैले कुनै जात धर्म अनि रुप रंग हेरेर माया गरेको थिईन । थिए त केबल एउटा सुन्दर मन ।

समय कति बलवान हुँदो रहेछ है, कहिले काहीँ पहाड बनेर आंफै उभिदो रहेछ । अचेल अनेक प्रश्नहरुको बीचमा घेरिएकी छु, आखिर म तिम्रो को हुँ ? प्रेमीका यात साथी । प्रेमीका भए तिम्रो लायक किन हुन सकिन ? के समय विताउनको लागि मात्रै म सँग यति नजिक भएको थियौ ? अनि म सँग टाढिनु पर्ने कारण के थियो ? किन केही नभनि एक्कासी टाढा भयौ ? कमसेकम कारण भनेको भए पनि म आज यस्तो अवस्थामा पुग्थिन होला । तिमीलाई त समय मात्रै विताउनु रहेछ तर मलाई पुरै जीवन । आखिर किन यस्तो नाटक ग¥यौ सानु ? तिमीले केबल उत्तर पनि नदिएरै टाढा भयौ । आफ्नै घरमा कसैको सामु बह पोख्ने सार्मथ्य थिएन्, थियो त केबल तिम्रो सामु । जब तिमी टाढा हुन लागेको शंका लाग्यो त्यस पछि कती दिन कति रात अनिदै रोएर विते । अरुले थाहा पाउलान भनेर ढोका थुनेर रुन्थें ।

कुनै दिन तिम्रो सामु पनि रोएको थिएं, साँच्चै मन दुखेर रोएको थिएं, तर तिमीले त धरै नाटक नगर पो भन्यौ । त्यसको साक्षी त आँसुले भिजेका सिरानी अनि मेरा सुँकसँुक रुवाइको आवाज सुनेका भित्ता काफी छन् । कस्तो सम्बन्धको रुप दियौ तिमीले, न तिम्रो श्रीमति भन्ने अधिकार पाएँ, न त प्रेमिका भनि समाजलाई भन्न सकें । अब हाम्रो सुनौलो विगतलाई कागजको पाना सरी जलाई दिने मात्र हो त ? प्रेममा कसैलाई माया मात्र होइन जीवन नै दिन सकियोस् जस्तो मलाई लाग्थ्यो, तर त्यो कल्पनामै सिमित भयो । किन मलाई तिमीले प्रेमको नाटकमा आँसुको ऋण बोकाएर गयौ, मैले के गल्ती गरेकी थिएं र ? तिमी आफै भन अब त्यो ऋणको भार कसरी तिरौं ? कसरी तिरौं ? म चाहेर पनि सक्दिनं । किनकी तिमी त मैले माया गरेको मान्छे हौ, त्यसैले तिम्रो आखामा आँसु पनि देख्न सक्दिनं । तिमीलाई भुल्न पनि सक्दिनं, र माया नगर्न पनि सक्दिनं । तर एउटा कुरा याद गर सानु, तिमीले बोलेको झुठको माफी जीवनभर दिन सक्दिनं । फेरी अर्को कुरा म हिजो पनि एक्लै थिएं र अब पनि एक्लै जिउँछु । जीवनमा पहिलो पटक तिमीलाई दिलमा सजाएको थिएं तर तिमीले त धुजाधुजा पारेर गयौ सानु ।

शुन्य–शुन्य लाग्छ जीवनका पानाहरु । निरासै निरासाको संसारमा हराए जस्तो लाग्छ, अचेल हरेक पल–हरेक दिनरातहरु । रंगिन सपना देख्न छोडेको त धेरै नै हुन लाग्यो । अब ती सपनामा बाँच्न पनि गाह्रो भइसक्यो । मन छैन र पनि अगाडि बढ्न खोज्दैछु । गल्ली–गल्ली यो बैंसालु शरीर ढुक्ने फिरौतेहरुको मुख कसरी बन्द गरु ? कुनै उपाए छैन म संग । हिजै जस्तो लाग्छ हात समाउँदै बजार–बजार डुलेको, मायाले बेस्सरी अंगालोमा कसेको, पाखा पखेरा नै सुगन्धित हुने गरी चुम्बनको बर्षा गराएको त कहाँ विर्सिएको छु र । तर बीचैमा चटक्क माया मारी तिमीले मलाई एक्लै छोडी गयौ, त्यो पनि सात समुन्द्र तरेर । मैले आफुलाई भन्दा धेरै माया गरेको मान्छे । जसको साथ र यादमा पल पल मरेर बाँच्ने गरेको छु । तिमी त जिन्दगीबाट टाढा गयौ भने त्यो कपाल मसार्ने हातको के दोष । आएर एक पटक फेरी ति हात मेरो टाउकोमा राख सानु, अनि मलाई खुसी बनाइदेऊ । हिजोका तीनै रमाइलो गरेका दिनहरु सम्झाउनका लागि भए पनि एक पटक फेरी आइदेउ ।

आज जिन्दगीले नयाँ दोंसाधमा ल्याएको छ, यो शरीरलाई आज प्रेमरुपी काँडाले चसक्क घोचेका छन । अब तिम्रो मायालाई मारेर नौलो गोरेटोमा यात्रा बढाउन सकेको छैन । अब अति भयो हेर, म थाकी सकें तिम्रो यादमा अनि आफुलाई समेत थेग्न नसक्ने भएं । समयले डाँडो काटेको पनि पत्तै भएन । २४ वर्ष भै सकेछु, घरमा हरेक दिन मेरो बिहे हुने कुरा चल्छ । मेरो बिहे गर्ने समय आयो रे । अब तिम्रो लागि भनेर समर्पण गरेको यो शरीर तिम्रो भनि जोगाई राख्न नसक्ने भइसकें, हरेक दिन घरमा थरीथरीका केटाहरु मलाई हेर्न र विवाहको प्रस्ताव लिएर आईरहन्छन् । यो समाजले विवाह विना कुनै पनि नारी लाई कसैको सम्झनामा बाँच्न दिंदो रहेनछ । अब यो जीवन कसैलाई सुम्पिन पनि सक्दिनं । मेरो व्यथा बुझेको को नै छ र । तिम्रो ईच्छा पुरा हुने भएको छ अब । जैले पनि पाटनमा भेट्न आउछु भन्थेउ । अब तिमी आउँदा सम्म कुन हस्पिटलको सैयामा हुन्छु त थाहा छैन तर तिम्रो कारणले गर्दा डिप्रेसनको औषधी खान थालेको छु ।

आज मन थाम्न सकेकी छैन, भतभति पोली रहेको छ, भावनाका छालहरुलाई रोक्न पनि नसकिंदो रहेछ । हरेक दिन आँसुले सिरानी भिज्ने गरेको छ । मनको व्यथा कसैसँग पोखु भने पनि समाजको डर लाग्छ । अब तिम्रो सम्झनाको अंगालोमा बस्ने दिन नचाहेर पनि गए जस्तो छ । तिमीले छोडेर गएको त ३ महिना वितिसकेछ तर तिम्रो सम्झनाले त झन झन पिरोलेको छ । एक पटक तिम्रो अंगालोमा धोको फेरेर रुन मन थियो त्यो पनि पुरा भएन । तिमीले त एयरपोर्ट भित्र छिरेर मात्रै फोन गरेउ त्यो पछि त मेरो मनको बाँध सम्हाल्नै सकिन । यति रोए की तिमीले अनुभव पनि गर्नै सक्दैनौ । तिम्रो र मेरो मायाको अन्त्य त मेरो समाप्ति सँगै होला । तिमी म बाट जति नै टाढा गएपनि तिम्रा यादहरु झन् नजिक बनेर सताई रहेका छन् । त्यही यादहरुले कति बेला आँखा बाट पानी निस्कन्छ थाहा नै नहुने अबस्थामा पुगेको छु । अरु इच्छा चाहनाहरु त मन भित्र नै चिहान बनाई सकें । अब एउटा मात्रै धोको छ, तिम्रो सिन्दुरले रंगिएर मर्ने । के त्यो पुरा होला ?
तिम्री प्रेमिका–प्रिया
घटना सत्यतामा आधारित भएपनि लेख्ने ब्यक्तिको नाम काल्पनिक हो । कसैको जीवनमा मेल खाएमा हामी क्षमाप्रार्थी छौं, यो संयोग मात्रै हुनेछ ।