उत्तरबाट भागेर दक्षिण कोरिया पुगेका सैनिक नियन्त्रणमा

एजेन्सी, साउन १६ ।

 

दक्षिण कोरियाले कडा सुरक्षा व्यवस्था रहेको सीमा क्षेत्र पार गर्दै आएका एकजना उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

दक्षिण कोरियाका संयुक्त ‘चिफ अफ स्टाफ’ले विशेष खालको ‘थर्मल इमेजिङ’ उपकरणको मद्दतमा ती सैनिक बुधबार राति आएको बताएका छन् ।

परिचय स्पस्ट नभएका उनले शरण लिने इच्छा देखाएको बताइएको छ ।

उत्तर कोरियाबाट दर्जनौं व्यक्तिहरू प्रत्येक वर्ष भागेर दक्षिण कोरिया आउने गरेपनि असैनिकृत क्षेत्रजस्तो संवेदनशील ठाउँ पार भएको घटना भने अत्यन्त कम रहने गरेको छ ।

सन् २०१७ मा यसरी एकजना उत्तर कोरियाली सैनिक भागेर दक्षिण कोरिया छिर्न खोज्दा उनका सहकर्मीहरुले ४० पटक गोली प्रहार गरेका थिए ।

सिवलका अनुसार सन् १९५३ मा कोरियाली युद्धपछि ३० हजारभन्दा बढी उत्तर कोरियालीहरू गैरकानुनीरूपमा दक्षिण कोरिया आएका छन् । पछिल्ला वर्षहरुमा भने यो संख्यामा कमी आएको छ ।