इटालीमा खाद्यान्न स्टोर र फार्मेसीबाहेक सबै पसल बन्द

 

एजेन्सी, फागुन २९ ।

इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या लगातार बढेपछि देशभरका खाद्यान्न स्टोर र फार्मेसीबाहेक सबै पसल बन्द गर्ने घोषणा गरिएको छ ।

वार, रेष्टुरेन्ट बन्द हुने तर होम डेलिभरीलाई भने अनुमति दिइने छ । प्रधानमन्त्री ज्यूसेप्पी कोन्टेले यो कडा प्रतिबन्ध आजबाट मार्च २५ सम्म रहने बताउनुभयो ।

यसअघि देशभरका शैक्षिक संस्था, जिमखाना, संग्राहलय, नाइटक्लबहरु बन्द गरिसकेको छ । इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय २७ र संक्रमितको संख्या १२ हजार पुगेको छ ।

करिब ९ सय जना संक्रमित सघन उपचारमा रहेका छन् । जर्मनीमा १५ सय ६७ कोरोना संक्रमित भेटिएका छन् । फ्रान्समा ४८ जनाको मृत्यु भएको छ भने २२ सय बढी संक्रमित छन् ।

यसअघि विश्व स्वास्थ्य संगठनले कोरोनाको प्रकोप महामारीको रुपमा रहेको जनाएको थियो ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले पछिल्लो दुई हप्तामा चीन बाहिर संक्रमणका घटना १३ गुणाले बढेको बताए । यसैबीच भारतले अप्रिल १५ सम्म सबै विदेशीहरुको भिसा अनुमति स्थगित गरेको छ ।

ग्वाटेमालाले यूरोपेली मुलुकका नागरिकहरु प्रवेशमा प्रतिबन्ध लगाएको छ ।