अयोध्यामा राम मन्दिर बनाउन मोदीले बनाए ट्रस्ट

 

एजेन्सी, माघ २२ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर बनाउनका लागि स्वायत्त ट्रस्ट गठन गरेका छन् ।

बुधबार लोकसभामा सम्बोधन गर्दै उनले अयोध्यामा राम मन्दिर निर्माणका लागि स्वायत्त ट्रस्ट गठन गरेको जानकारी दिएका हुन् ।

सर्वोच्च अदालतले दिएको आदेश अनुसार नै राम मन्दिर बनाउन स्वायत्त ट्रस्ट गठन गरिएको जानकारी प्रधानमन्त्री मोदीले लोकसभामा गराएका हुन् ।

यसअघि सर्वोच्च अदालतले अयोध्या मुद्दाको फैसला गर्दै सरकारलाई मन्दिर निर्माणका लागि तीन महिनाभित्र ट्रस्ट बनाउन निर्देशन दिएको थियो । सर्वोच्चले दिएको समय सीमा यही फेब्रुअरी ९ मा सकिँदै थियो ।

संसदमा प्रधानमन्त्री मोदीले सरकारले सर्वोच्च अदालतले दिएको आदेश अनुसार नै भगवान रामको जन्मस्थलमा भव्य मन्दिर बनाउन ट्रस्ट बनाइएको बताएका हुन् । स्वायत्त ट्रस्ट–श्रीराम जन्मभूमि तीर्थ क्षेत्र, गठनको प्रस्ताव पारित गरिएको जानकारी उनले दिए ।

ट्रस्टमा १५ जना सदस्य रहने जनाइएको छ ।