अमेरिकी राष्ट्रपति ट्रम्प ट्वीटका कारण पुनः विवादमा

 

एजेन्सी, साउन १२ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा तानिएका छन् । ट्रम्प आफैंले गरेको एउटा ट्वीटका कारण उनी विवादमा तानिएका हुन् ।
उनले अफ्रिकी मूलका डेमोक्रेटिक नेतामाथि रंगभेदी टिप्पणी गरेका छन् ।

दुई हप्ताअघि पनि राष्ट्रपति ट्रम्पले कंग्रेसमा रहेका चार जना डेमोक्रेटिक महिला नेतृलाई लक्षित गरी रंगभेदी ट्वीट गरेका थिए ।

पछिल्लो समय भने ट्रम्पले कंग्रेसमा डेमोक्रेटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने एलाइजा कमिङ्गसलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका थिए ।

ट्रम्पले कमिङ्गस र उनले प्रतिनिधित्व गरेको बाल्टिमोरको मेरिल्याण्डलाई ‘रोडेण्ट इन्फेक्टेड मेस’ अर्थात मुसासहितका जनावरको संक्रमण फैलिएको फोहोर क्षेत्र भनेका छन् ।

अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको यो ट्वीट रंगभेदी रहेको बताएकी छिन् ।

कमिङ्गसले आफ्ना बारेमा ट्रम्पले गरेको टिप्पणी ‘बुली’ अर्थात डर–धम्क्याइ रहेको बताएका छन् ।

ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीमाथि गरेको व्यवहारको आलोचना गरेकोमा उनले आफूलाई बुली गरेको कमिङ्गसले उल्लेख गरेका छन् ।

उनी संसद्को ओभरसाइट कमिटीका अध्यक्षसमेत हुन ।

उनको नेतृत्वमा रहेको समितिले ट्रम्प प्रशासनका विभिन्न नीतिहरुमाथि अनुसन्धान गरेको छ ।

यो समितिले सीमा क्षेत्रमा रहेका डिटेन्सन सेन्टरको व्यवस्थापन बारे पनि अनुसन्धान गरेको थियो ।

डेमोक्रेटिक पार्टीकी नेतृ तथा सभामुखको हैसियतमा पेलोसीले कमिङ्गसको समर्थन गर्दै ट्रम्पको टिप्पणीको आलोचना गरेका छन् ।