अमेरिकाको एल पासो शहरमा अन्धाधुन्ध गोली प्रहार, २० जनाको मृत्यु, २६ घाइते

ऐजेन्सी, साउन १९ ।

अमेरिकाको टेक्ससमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

एल पासो शहरको सिएलोभिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गरिएको आक्रमणमा अन्य २६ जना घाइते भएका छन् । अन्धाधुन्ध गोली प्रहारपछि भागदौड मच्चिएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गोली चलाएको आरोपमा २१ वर्षीय प्याट्रिकम क्रुसियसलाई पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी डलास क्षेत्रका बासिन्दा रहेको बताइएको छ । आरोपितलाई पक्राउ गर्न प्रहरीले गोली नचलाएको स्थानीय प्रहरी प्रवक्ता रोबर्ट गोमेजले जानकारी दिए । टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको बताए । उनले राज्यको सुरक्षा व्यवस्था हाल कडा पारिएको बताए ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटना निकै दुःखद भएको बताएका छन् ।