अफगानिस्तानमा शान्ति समूहका २७ जना तालिवान विद्रोहीको अपहरणमा

 

एजेन्सी, पुस १० ।

अफगानिस्तानका स्थानीय अधिकारी र अधिकारकर्मीहरूले एउटा शान्ति समूहका २७ जना सदस्य तालिवानको अपहरणमा परेको बताएका छन् ।

पिपल्स पिस मुभमेन्ट (पीपीएम) को र्‍याली पश्चिमी अफगानिस्तान पुगेका बेला उसका सदस्य सम्पर्कविहीन भएका हुन् । तालिवानले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

पीपीएमले युद्धविरामको माग गर्दै दुई साताअघि हेरात प्रान्तबाट आफ्नो र्‍याली सुरु गरेको थियो । तर फराह प्रान्तमा प्रवेश गरेपछि ती २७ जना हराएको बताइएको छ ।

तालिवान अमेरिकासँगको शान्तिवार्तामा संलग्न छ । तर उसले अफगान र अफगानिस्तानमा रहेका अन्तर्राष्ट्रिय फौजहरूमाथि बारम्बार आक्रमण गरिरहेको छ ।

फराह प्रान्तका उपप्रमुख मसुद बख्तवारले बताए अनुसार छ वटा कारमा यात्रा गरिरिहेका ती अभियानकर्ताहरूलाई मुख्य सडकमा तालिवानले रोके र अज्ञात स्थानतर्फ लिएर गएका थिए ।

एउटा कार बम हमलामा १७ जना सर्वसाधारण मारिनुका साथै ५० जना घाइते भएपछि सन् २०१८ को प्रारम्भदेखि हेलमन्ड प्रान्तबाट हिंसात्मक आक्रमणहरूविरुद्धको उक्त शान्ति र्‍याली सुरु भएको हो ।

त्यसयता उक्त समूहले देशका अन्य भागहरूको यात्रा गरेको छ । जसमा धेरैजसो तालिवान नियन्त्रित क्षेत्रहरू पनि परेका छन् ।

तालिवानले यसअघि उक्त समूहमाथि अफगान सरकारको लगानी रहेको आरोप लगाएको थियो, जुन कुरा पीपीएमले अस्वीकार गरेको छ ।

सन् २०११ यता अफगानिस्तानमा दशौँ हजार सर्वसाधारण र सुरक्षाकर्मीहरू अनि तीन हजारभन्दा धेरै अन्तर्राष्ट्रिय सैनिकको ज्यान गइसकेको छ ।