२२ वर्ष नपुग्दै अर्चना बनिन उपमेयर

 

वीरगञ्ज, असोज ६ ।
२२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा दोस्रो वर्षमा अध्यनरत छिन् ।
नेपाली कांग्रेसबाट चुनाव लडेकी उनी निकतम प्रतिद्वन्दीलाई ९१९ मतले पछि पार्दै उपमेयरमा निर्वाचित हुन सफल भएकी हुन् । उनले ४५६९मत ल्याउँदा निकटतम एमालेकी कालिदेवि थरुनीले ३६५० मत ल्याइन् । जितेपछि खुशीले रमाउँदै नाराबाजी गरेका कार्यकर्ताहरुको बीचमा रहेकी उनले जितेपछि निकै खुशी लागेको बताइन् । ‘मलाई पहिलादेखि नै राजनीतिमा चासो थियो, उपमेयरमा लड्ने प्रस्ताव आयो मैले सहजै स्वीकार गरे । ’ उनले भनिन परिणाम पनि आफ्नै पक्षमा आउँदा निकै खुशी लागेको छ ।’ राजनीतिक पारिवारिक पृष्ठभूमि भएकोले उनलाई फाइदा मिलेको स्थानीय गिरिराज कँडेलले बताए ।
अर्चनाले उपमेयरमा निर्वाचित भएकोमा निकै उत्साहित भएको बताउँदै उनले आफूले गरेको १० वटा विकासका प्रतिबद्धता पुरा गर्ने बताइन् । उनले समुदायका आवश्यकताहरुलाई पुरा गर्दै जाने लक्ष्य लिएको पनि सुनाइन् ् । ‘ मैले मतदाताहरुसँग महिला शिक्षा, विकासका पूर्वाधारहरु निर्माण , सुशासनका १० वटा काम गर्ने प्रतिबद्धता गरेको छु त्यसलाई पुरा गर्छु । ‘उनले भनिन् ‘संगै मतदाताका समस्याहरुलाई क्रमश पुरा गर्दै जाने सोच मैले बनाएको छु ।’