प्रदेश २ को नामाकरण मतदानबाट हुने

 

जनकपुर, फागुन २२ ।

प्रदेश २ को नामाकरणको टुंगो मतदानबाट हुने भएको छ । यसका लागि फागुन ३० गतेको प्रदेश सभा बैठकले मतदान प्रक्रियाको कार्यसूची तय गर्ने जनाइएको छ ।

सत्तारुढ दल राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशको नामाकरणबारे सर्वसम्मतिको प्रयास विफल भएकोले मतदान प्रक्रियामै जान लागेको बताए ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ को नामाकरणमा प्रतिपक्ष सहमत नभएपछि मतदान प्रक्रियामा जान लागेको बताए ।

प्रदेश २ मा समाजवादीका तर्फबाट ३०, राजपाका २५ सांसद छन् भने प्रमुख प्रतिपक्षी नेकपाका ३२, कांग्रेसका १९ र एकजना स्वतन्त्र सांसद छन् । प्रदेशको राजधानी भने जनकपुरधाम बनाउने निर्णय यसअघि नै भैसकेको छ ।
(ईमेजखबरबाट साभार)