ऊर्जामन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, समझदारीलाई अघि बढाउन विषयमा छलफल
काठमाडौं, मंसिर ८ ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।
मन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
भेटमा उर्जामन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै उक्त भ्रमणका क्रममा नेपाल(चीनबीच एक वर्ष्भित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।
उनले नेपाल चीनबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे । चिनियाँ राष्ट्रपतिकै नेपाल भ्रमणका क्रममा सम्झौतामा भएको तमोर र माडी जलविद्युत् आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाई थियो ।
मन्त्री पुनले सुनकोशी–मरिन डाइभर्सन परियोजनामा चिनियाँ ऋण सहयोगका लागी अर्थमन्त्रालयमार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतको ध्यानआकर्षण गरे ।
उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी चिनियाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पूर्ण रुपमा सहजीकरण गरिरहेको बताए ।
भेटमा चिनियाँ राजदूत यान्छीले चीन उर्जा क्षेत्रमा सहकार्यका लागी इच्छुक रहेको धारणा राखिन् । उनले चिनियाँ कामदारले ब्यहोरिरहेका भिसाको समस्या, लगानीकर्ताका नीतिगत समस्या र विजुलीको दररेटजस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा व्यक्त गरिन् ।
साथै ऊर्जा संयन्त्रको बैठकका लागी आफूले सरोकारवाला निकायसँग छलफल गरेर बैठकको मिती चांडै टुंगो लगाउने जानकारी दिइन् ।
चिनियाँ राजदूत यान्छीले ऊर्जामन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गर्भनरको नेपाल भ्रमण हुन लागेको जानकारी दिंदै त्यस क्रममा उर्जा क्षेत्रमा सहकार्य गर्न आफुहरु इच्छुक रहेको धारणा राखिन् ।
‘चीनबाट गर्भनर तहकै भ्रमण हुँदैछ, युनान जलविद्युत र उर्जा क्षेत्रमा निकै प्रगती गरेको भनेर चिनिने प्रान्त पनि हो, उहाँको भ्रमण उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्नेमा केन्द्रित हुनेछ’ राजदूत यान्छीले भेटमा भनिन् । (अनलाइनखबरबाट साभार)