भ्रष्टाचार नियन्त्रणमा चुनौति थपिंदै गएको छ : अर्थमन्त्री खतिवडा
काठमाडौं, पुस ६ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले भ्रष्टाचार नियन्त्रणमा चुनौति थपिंदै गएको बताएका छन् ।
इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उनले भ्रष्टाचार अन्त्य गर्ने विषय बोल्ने भन्दा पनि व्यवहारमा उतार्ने विषय रहेको र नियन्त्रणका लागि नियामक निकाय चनाखो हुनुपर्ने बताए ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले श्रोत,साधन र शक्तिको दूरुपयोग गर्दा भ्रष्टाचार बढ्ने गरेको उनको भनाइ थियो । अर्थमन्त्री खतिवडाले प्रशासनिक सदाचारका लागि धेरै कानुन संशोधनको आवश्यकता औंल्याए
अर्थमन्त्री डा. खतिवडाले कम्पनी रजिष्ट्रारको कार्यालयमा नक्कली कम्पनीको बिगबिगी बढेको बताए ।
उनले लेखा परीक्षकहरुले आर्थिक अनियमिततालाई ढाकछोप नगरी आफ्नो जिम्मेवारी इमान्दारितापुर्वक पूरा गर्न आग्रह समेत गरे ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविनकुमार घिमिरेले स्थानीय सरकार धेरै भ्रष्ट हुन थालेको भन्दै संघीयता कार्यान्वयनको संक्रमणकालीन समय भनेर भ्रष्टाचारीलाई छुट दिन नहुने बताए ।
भ्रष्टाचार र ठगीविरुद्ध राज्य निर्मम रुपमा प्रस्तुत नभएसम्म सुशासन सम्भव नहुने उनको भनाइ थियो
महालेखा परीक्षक टंकमणि शर्मा दंगालले लेखापरीक्षण गर्ने व्यक्ति आफैंमा व्यवसायिक हुनु पर्ने बताए । (ईमेजखबरबाट साभार)