भूकम्पबाट क्षतिग्रस्त ४ लाख ८० हजार निजी घरको पुनर्निर्माण सम्पन्न : पुनर्निर्माण प्राधिकरण
काठमाडौं, मंसिर ६ ।
भूकम्पबाट क्षतिग्रस्त बनेका मध्ये झण्डै पाँच लाख निजी घरको पुनर्निर्माण सम्पन्न गरिएको दावी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ ।
संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सकिएको जानकारी गराएका हुन् ।
उनका अनुसार २४ प्रतिशत घर बनिरहेका छन् । संसदीय समितिमा ज्ञवालीले भने, ‘४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणका क्रममा रहेको छ ।’
निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ४ सय २७ लाभग्राहीसँग अनुदान सम्झौता गरिएकामा ९९ प्रतिशतले पहिलो किस्ता ५० हजार, ८० प्रतिशतले दोस्रो किस्ता १ लाख ५० हजार र ६७ प्रतिशतले तेस्रो किस्ता ३ लाख रुपैयाँ अनुदान बुझिसकेको उनले जानकारी दिए ।
सुरक्षित बस्तीमा सार्नुपर्ने ४ हजार ९ सय २९ लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाई व्यवस्थित गरिसकिएको पनि उनले बताए । ८ हजार २ सय ८६ भूमिहीन भूकम्पपीडितमध्ये ८ हजार ७ सय ४४ लाई घर बनाउने व्यवस्था मिलाइएको जानकारी प्राधिकरणले दिएको छ ।
७१ प्रतिशत विद्यालय पुननिर्मित
भूकम्पले क्षति पुर्याएको ७ हजार ५ सय ५३ विद्यालयमध्ये ७१ प्रतिशत बनाइसकिएको भन्दै प्राधिकरणले २४ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जनाएको छ ।
क्षति पुगेका एक हजार एक सय ९७ स्वास्थ्य संस्थामध्ये ५८ प्रतिशत बनिसकेको र १४ प्रतिशत निर्माणाधीन रहेको ज्ञवालीले जानकारी दिए ।
सम्पदा पुनर्निर्माणतर्फ भने ५१ प्रतिशतको काम सकिएको छ । ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । १६ प्रतिशत भने निर्माणका क्रममा छन् । सीईओ ज्ञवालीले रानीपोखरी, धरहरा, सिंहदरबार, काष्ठमण्डप जस्ता संरचनाको पुनर्निर्माण तीब्र रुपमा भइरहेको बताए ।
समिति सभापति कल्याणी खड्काले संसदको पुरानो भवन पुनर्निर्माण चाँडो गराउन निर्देशन दिँदै लाभग्राहीलाई सहुलियतपूर्ण ऋण प्रवाह, जीविकोपार्जनको समस्या समाधानमा ध्यान दिन पनि आग्रह गरिन् ।
स्थानीय तहले गुनासो सुनुवाईको क्रममा लाभग्राहीहरुको झूटो विवरण पठाउँदा निजी आवास पुनर्निर्माणमा ढिलाई भएको पनि सीईओ ज्ञवालीले बताए । (ईमेजखबरबाट साभार)