खानेपानी योजनाको लागि बजेटको अभाव हुँदैन : सभापति कोइराला
पोखरा, असोज ६ ।
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले खानेपानी योजनाको लागि बजेटको अभाव नहुने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं ३२ चैनपूर सात मुहाने खानेपानी उपभोक्ता समूहको १८ औं वार्षिक साधारण सभाको आज उद्घाटन गर्दै सभापति कोइरालाले सो कुरा बताए हुन् । कम्युनिष्ट सरकारले सबै जनतालाई स्वच्छ पानी खाने बातावण बनाउने उनले बताए । एक घर एक धारा अभियान संचालन भइरहेको भन्दै गण्डकी प्रदेश सरकारले खानेपानीको क्षेत्रमा प्राथामिकतामा पारेर कार्य गरीरहेको उनको भनाई थियोे । चैनपूर सातमुहाने खानेपानी मर्मतको लागि प्रदेश सरकारले ४८ लाखको बजेट विनीयोजन गरेको जानकारी दिँदै कोइरालाले धाराबाट थापेर सिधै पानी खाने गरि शुद्ध पानी वितरण हुनु पर्ने बताए ।
उनले पानी शुद्धिकरणको लागि योजना लिएर आउन स्थानीयलाई आग्रह समेत गरे । ‘योजना बनाएर आउनुस बजेटको अभाव हुने छैन’, कोइरालाले भने । सोही क्षेत्रका प्रदेश सांसद कोइरालाले कुनैपनि योजनाहरु सफलहुनको लागि स्थानीयहरुको चासो र साथ हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेकपाका नेता टिकाराम पंगेनीले २०५७ सालबाट शुरु भएको ढकाल खोला मुल बाट शुरु भएको योजनामा अहिले पाँच सय घर धुरी रहेको बताए ।
वडा नं ३२ का वडा सदस्य विष्णु तिवारीले सवैको लागि पानी महत्वपुर्ण हुने भन्दै मान्छेलाई पानीकै कराण ८० प्रतिशत रोग लाग्ने गर्ने गरेको बताए । वडाले पनि पानीको लागि प्राथामिकतामा राख्दै आएको बताए ।
कार्यक्रम चैनपूर सातमुहाने खानेपानी उपभोक्ता समूहका अध्यक्ष लक्ष्मीकान्त सापकोटाको अध्यक्षतामा भएको थियो ।