सूचना तथा प्रविधि विधेयकको विरोधमा अध्यक्ष यादव : ‘वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजियो’

 

काठमाडौं, पुस २२ ।

संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव संसदमा विचाराधीन सूचना तथा प्रविधि विधेयकको विरोध गरेका छन् ।

केही समयअघि सरकारबाट बाहिरिएका यादव उपप्रधानमन्त्री हुँदै सरकारले यो विधेयक संसदमा पेश गरेको थियो ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले विधेयकले नागरिकको वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजेको भन्दै परिमार्जन नगरी जारी गर्न नहुने बताएका हुन् ।

‘यसमा भएका व्यवस्थाले नैतिकता तथा भद्रताको आधारमा वाक स्वतन्त्रतालाई अपराधीकरण गर्न खोजेको देखिन्छ जो अन्य कानुनी व्यवस्थाको प्रतिकूल छ,’ यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उनले राष्ट्रिय मानव अधिकार आयोगलगायत संस्था र बुद्धिजीवीले समेत विधेयकलाई परिमार्जन नगरी जारी गर्न नहुने सुझाव दिएको उल्लेख गरेका छन् ।

विधेयकमा भएका अस्पष्ट परिभाषा तथा द्वीअर्थी भाषाले सरकारी अधिकारीलाई नागरिकका सामाजिक सञ्जाल नियन्त्रण गर्न अधिकार दिएको र यसले लोकतान्त्रिक अभ्यास नियन्त्रण गर्ने उनको बुझाइ छ ।
(ईमेजखबरबाट साभार)