एमाले गण्डकीले २५ करोडको भवन बनाउने, प्रत्येक सदस्यसँग ५ सय उठाउने

पोखरा, भदौ ८ ।
नेकपा एमाले गण्डकीले २५ करोड रुपैयाँ खर्च गरेर कार्यालय बनाउने भएको छ । बिहीबार बसेको एमाले गण्डकी भवन निर्माण कमिटीको बैठकमा प्रदेश इन्चार्ज एवम् पार्टी सचिव गोकर्ण विष्टले पार्टीको अत्याधुनिक भवन बनाउने योजना सुनाउँदै त्यसका लागि २५ करोड संकलन गर्ने योजना रहेको बताए ।

बिष्टले प्रत्येक पार्टी सदस्यबाट ५ सय उठाइने र सक्नेहरुले मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गरे । भवनमा सभा हल, पार्टी र जनसंगठनको कार्यालय रहने छन् । बैठकमा गण्डकीका नेताहरु उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ, खगराज अधिकारीले भवन बनाउन हर तरहले सहयोग गर्ने बताए ।

उनीहरुले यो अवसरमा पार्टीका सदस्यहरु, जनप्रतिनिधि, व्यवसायी र शुभेच्छुकले दिल खोलेर सहयोग गर्न आग्रह गरे । बैठकले ४५ सदस्यीय सचिवालय गठन गर्ने र चाँडै अर्को बैठकमा जिल्लागत जिम्मेवारी तोक्ने निर्णय गरेको सचिव धनन्जय दवाडीले जानकारी दिए ।