जेष्ठ नागरिक विधेयक पारित

 

काठमाडौं, पुस २० ।

प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिले जेष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ को पहिलो संशोधन विधेयक पारित गरेको छ ।

आइतबार (आज) सिंहदरवारमा बसेको समितिको बैठकमा सर्व सम्मतिले संशोधित विधेयक पारित गरेको हो । समितिका सभापति निरुदेवी पालले लामो छलफल पछि पारित विधेयक जेष्ठ नागरिकहरुको भावना अनुरुप रहेको बताए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले परिवारबाट पालन पोषण तथा हेरचाहवाट बञ्चित अलपत्र जेष्ठ नागरिकहरुको स्थानीय तहले स्वामित्व लिनुपर्ने विषय विधेयकमा रहे पनि यसमा केन्द्र सरकार पन्छिन नमिल्ने बताए ।

उनले जेष्ठ नागरिकका ज्ञान र सीपलाई अर्को पुस्तालाई हस्तान्तरण हुने गरि ज्ञान हस्तान्तरण केन्द्रको स्थापनामा गरिने जानकारी गराए ।

मन्त्री गुरुङले जेष्ठ विधेयकका सम्बन्धमा सरकार गम्भिर रहेको र आवश्यक परे सरोकारवालाहरुको सुझाव समेट्दै थप संशोधन गर्न सकिने पनि बताए ।

पारित विधेयकमा टोल छिमेकमा कुनै पनि जेष्ठ नागरिकको पालन पोषण तथा हेरचाह यथोचित भएको नलागेमा छिमेकीले समेत उजुरी दिन सक्ने व्यवस्था गरिएको छ ।

स्थानीय तहमा जेष्ठ नागरिकको जीवनयापनमा समस्या देखिए सन्तान वा नजिकको हकवालाको आर्थिक हैसियत अनुसार निश्चित रकम मासिक रुपमा जेष्ठ नागरिकको खातामा जम्मा गर्न लगाउने सक्नेलगायतका व्यवस्था पारित विधेयकमा गरिएको छ ।
(ईमेजखबरबाट साभार)