भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ६५ पुग्यो

पोखरा, कात्तिक १८ ।
मध्यराति गएको भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा मृत्यु हुनेको संख्या ६५ पुगेको छ । घटनामा १ सय भन्दा बढी घाइते भएको प्रारम्भिक जानकारी आएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

रातिको समयमा भूकम्प गएकाले मानवीय क्षति बढ्ने सक्ने उद्धारमा खटिएका सुरक्षा अधिकारीहरुले अनुमान गरेका छन् । जाजरकोट रामीडाँडा आसपासलाई केन्द्र बनाएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि भूकम्पमा परी मृत्यु भएको छ । शनिबार बिहान ६ बजेसम्म संकलन गरिएको विवरण अनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको छ ।