मौका दिनुस् कुलमानले जस्तो क्रान्ति गर्छुः धर्मराज

पोखरा, मंसिर ७ ।
पोखरा–१७ मा घरदैलोमा पुगेका समावजादी पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई मतदाताले चुनाव जितेर निस्वार्थ देशको सेवामा लाग्न आग्रह गरे । देशका लागि खाँटी सेवा गर्ने सांसदको अभाव रहेको बताउँदै त्यो अभाव पूरा गर्न बिरौटा, छोरेपाटनमा घरदैलामा गएका धर्मराजलाई मतदाताले आग्रह गरेका हुन् ।

मतदाताको आग्रहपछि उम्मेदवार इन्जिनियर गुरुङले कुलमान घिसिङले जनविद्युतको क्षेत्रमा गरेको क्रान्तिको स्मरण गर्दै आफू पनि त्यसरी नै लाग्ने बताए । ‘कुलमान घिसिङ जसरी रात दिन नभनी लागेर सिंगो नेपाललाई लोडसेडिङमुक्त बनाए । म पनि २४ सै घण्टा खटेर देशमा सुशासनको लागि सिस्टम बनाउँछु,’ उम्मेदवार गुरुङले भने, ‘एक पटक मौका दिनुस् । काम गरेर देखाउने जिम्मा मेरो भयो ।’

अरु पार्टी व्यक्तिगत तथा दलगत स्वार्थमा फसेका कारण देशमा विकास निर्माण र सुशासनको सिस्टम नबसेको गुरुङले बताए । स्वार्थ, पद र लोभको पछाडि नदौडेको कुनै पनि पुराना पार्टी नरहेको बताउँदै कुनै पनि खालको स्वार्थ नलिइकन आफू उम्मेदवार बनेको गुरुङको भनाइ थियो ।

‘मलाई न पैसा चाहिएको छ । न कुनै ठूलो पद ओगटेर बसौंला भन्ने छ । न छोराछोरी नातिनातिना वा आफन्तलाई जागिर खुवाउँला भन्ने छ । मलाई न सरकारी निकायमा कसैलाई नियुक्ति गरौंला भन्ने छ’ उम्मेदवार गुरुङले भने, ‘मलाई त एकमात्र स्वार्थ छ, सरकारी कामकाज र जनताको सेवामा सबले महसुस गर्ने गरी टेक्नोलोजिको विकास गर्ने ।’

सयुक्त राष्ट्र संघमा इन्जिनियरका रुपमा १ सय ८० भन्दा बढी देशका मान्छेहरुसँग काम गर्दा र विकसित भनिएका देशलाई नजिकबाट हेरेर आफ्नो देशमा निम्ति मैदानमा उत्रिएको गुरुङले बताए । ‘देश विकास र सुशासनका क्षेत्रमा कसरी काम गर्ने भन्ने कुरा विकसित देशमा देखेको छु । काम गरेको छु, बुझेको पनि छु,’ उम्मेदवार गुरुङले भने, ‘हात चिन्हमा भोट दिएर एक मौका दिनुस्, म देखाइदिन्छु ।’

भूपू गोर्खा, जनजातीमात्रै होइन सबै जाती र समुदायले देश विकासका निम्ति मिसन र भिजन भएको उम्मेदवारका रुपमा भोट हाल्ने प्रतिवद्धता गरेकाले आफूले जित्ने प्रतिक्रिया दिए । ‘मसँग स्वार्थ होइन, मिसन, भिजन छ । मतदाताले तपाईंजस्तो मान्छे देशलाई खाँचो छ भनेका छन्,’ उम्मेदवार गुरुङले भने, ‘म चुनाव जितेर जनताका पक्षमा काम गर्छु ।’