रवीन्द्रको गाउँमा रजनीको घरदैलो

पोखरा, मंसिर ७ ।
मंसिर १४ गते हुने उपनिर्वाचन लक्षित चुनावी घरदैलोको क्रममा साझा पार्टीका तर्फबाट उम्मेदवार रजनी केसी पोखरा ३३ भरतपोखरी पुगेकी छन् । शनिबार उम्मेदवार केसीसहितको टोली तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गाउँ भरतपोखरीको कालिकास्थान, गैरे गाउँ, डाँडा गाउँ लगायतका ठाउँमा पुगेको हो । यसअघि पनि एकपटक सो वडामा घरदैलो र कोणसभा गरिएको थियो ।

मतदाता भेटघाट पछि आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार केसीले आफूले आश्वासन बाँडेर नभइ काम गरेर देखाउने बताइन् । चुनावमा आश्वासन बाँडने काम म गर्दिन, एकपटक अवसर पाए काम गरेर देखाउछु,’ उनले भनिन् ।

उनले राजनीतिलाई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बनाएर राजनीतिको परिभाषा नै बिगारिएको भन्दै राजनीति निस्वार्थ हुनुपर्ने स्पष्ट पारिन् । करले जनताको ढाड सेकेको बताउँदै युवालाई देशमा बस्ने वातावरण सिर्जना गर्नुपर्ने ठाउँमा वर्तमान सरकार रेमिट्यान्समा भुलिरहेको बताइन् ।

’युवालाई त आफ्नै देशमा बसौंबसौं लाग्नुपर्ने हो तर हाम्रोमा त्यस्तो छैन,’ उनले भनिन, ’सबैतिर कर नै कर छ, यसले गर्दा युवा जनशक्तिलाई कहिले विदेश जाउँला जस्तो भइराखेको छ ।’ कर्मचारी र विद्यार्थीलाई कार्यकर्ता बनाउने कम्युनिष्ट र काङ्ग्रेसबाट केही आश गर्नु व्यर्थ भएको उनको भनाइ थियो । साझा पार्टी सधैं पेशागत संघ संगठन खारेज गर्नुपर्ने पक्षमा रहेको उनले बताइन् ।

’स्वतन्त्र भएर काम गर्नुपर्ने कर्मचारीलाई दलहरुको झोले कार्यकर्ता बनाइएको छ, कक्षामा पढ्नुपर्ने विद्यार्थी सडकमा टायर बाल्दै गरेको भेटिन्छन,’ उनले भनिन, ’हामी सधैं यसको विरुद्धमा रहन्छौं ।’ उम्मेदवार केसीले आफ्नो उम्मेदवारीप्रति मतदाताले दिएको प्रतिक्रियाले थप हौसला प्रदान गरेको सुनाइन् । चुनावको मिति नजिकिएसँगै पार्टीले घरदैलो र कोणसभा कार्यक्रमलाई तीव्र बनाएको छ ।