लुम्ले महायज्ञ सकियो
श्रीभद्र पौडेल
अन्नपूर्ण(लुम्ले), असोज २७ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ भएको महायज्ञ सकिएको छ ।
महायज्ञमा लुम्लेवासीले खुलेर सहयोग गरेको देखिन्थ्यो, जसअनुसार यज्ञबाट रु.५० लाख दान संकलन गर्ने लक्ष्य राखिएकोमा सो भन्दा करिव साढे दुई लाख बढी ५२ लाख ४५ हजार ८ सय ९६ दान संकलन भएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष चित्रबहादुर गुरुङले दानीलाई हानी हुन्न भन्दै अब लुम्लेलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने प्रतिबद्घता जनाए ।
प्रमुख वाचक कथा शिरोमणि पं.दीपकप्रसाद पौडेलले धार्मिक उद्देश्यका साथ यज्ञ गरिएकोमा पूर्ण सफलता प्राप्त भएको जनाउँदै संकलित रकमको सदुपयोग हुने विश्वास व्यक्त गरे ।
मूल आयोजक समितिका अध्यक्ष भरत देवकोटाले छोटो समयको तयारीमा पनि गाउँवासीको उल्लेख्य सहयोगका बीच यज्ञ सम्पन्न गरिएको धारणा राखे ।
कार्यक्रममा प्रचारप्रसार संयोजक एकदेव देवकोटा, द्वितीय उपाध्यक्ष केदारनाथ देवकोटा, राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष चुडामणि देवकोटा, दाता पहिचान उपसमिति संयोजक लक्ष्मण देवकोटा कोषाध्यक्ष नुमलाल देवकोटा, कान्छी वराह सहकारीकी अध्यक्ष जौँमाया देवकोटा, यज्ञका प्रवन्ध निर्देशक सैलेश आचार्य लगायतले पनि धारणा राखेका थिए ।
उनीहरुले गाउँको विकासका लागि यज्ञ मार्फत लुम्लेवासी एक भएको बताए । दशैँका लागि लुम्लेवासीले महायज्ञ स्थलमा सामुहिक जमरा राखि टिका पनि लगाएका थिए ।
मूल आयोजक समितिका अध्यक्ष देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कर्ता भक्तिराम देवकोटाले स्वागत तथा सचिव टंकप्रसाद देवकोटाले कार्यक्रम संचालन गरेका थिए ।