८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी
काठमाडौं, मंसिर १८ ।
सरकारले झन्डै ८ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ ।
दुई महिनापहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् ।
गत कात्तिक मसान्तसम्ममा झन्डै सात लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेका यातायात व्यवस्था विभागले जनाएको छ ।
अहिले विभागमा रहेका पुराना ‘प्रिन्टर’बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए ।
उनकाअनुसार पुराना उपकरणको क्षमताभन्दा बढी चालक अनुमतिपत्र छाप्नुपर्ने बाध्यता रहेकाले छाप्नुपर्ने चालक अनुमतिपत्र बढिरहेका हुन् ।
‘मास प्रिन्टर’ सन्चालनका लागि दक्ष जनशक्ति नहुँदा अहिले यहाँ कार्यरत् जनशक्तिलाई तालिम दिइरहेको उनले बताए ।
‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले नै विभागका कर्मचारीलाई उपकरणको प्रयोगबारे प्रशिक्षण दिइरहेको छ ।
उनले भने–‘तालिम सकिएर मास प्रिन्टरले पूरै काम गर्न थालेपछि समस्या सकिनेछ ।’
चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि आवेदन दिएकाको संख्या झन्डै ८ लाख पुगेको हो । यो संख्या अघिल्लो तीनरचार वर्षदेखि नै महिनैपिच्छे बढिरहेको छ ।
‘मास प्रिन्टर’ र चालक अनुमतिपत्र छाप्नका लागि १० लाख कार्ड खरिद गरेसँगै विभागले छाप्न बाँकी कार्ड सकाउने बताउँदै आएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा ‘मास प्रिन्टर’ प्रयोगमा आएसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइ तीन महिनामा सम्पन्न गर्ने उल्लेख थियो । (रासस)