सुनको मूल्य आकासियो, आजका लागि तोकिएको मूल्य नेपाली सुन बजारमा सबैभन्दा उच्च

कठमाडौँ, साउन २० ।

नेपाली बजारमा यतिबेला सुनको मूल्य आकासिएको छ । आज छापावाल सुन प्रतितोला ६७ हजार ८ सय रुपैयाँमा कारोबार हुँदैछ ।

नेपाल सुन चाँदी व्यवसायी संघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ । आइबतार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबारका लागि तोकिएको सुनको मूल्य नेपाली सुन बजारको सबै भन्दा उच्च बिन्दु हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको बढोत्तरीको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको बज्राचार्यले बताएका छन् ।

अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाए पछिको असर सुनको मूल्यमा परेको जनाइएको छ । विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भईरहन सक्ने बज्रचार्यले बताए ।

मूल्य आकासिएपछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्ने ग्राहक नै नभएको व्यवसयीहरुको बताए ।
(अनलाइनखबरबाट सभार)