सरकारले दशैंका लागि ३ हजार खसी र च्याङ्ग्रा किन्ने
काठमाडौं, भदौ ५ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि ३ हजार खसी तथा च्याङ्ग्रा किन्ने भएको छ । यसै साता बस्ने कम्पनीको बोर्ड बैठकले खसी तथा च्याङ्ग्रा किन्नका लागि बजेट व्यवस्था गर्ने महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
गत वर्ष खाद्य संस्थानले १३ सय खसी तथा च्याङ्गा्र भित्र्याइएको र त्यो अपुग नहुने ठानेर संख्या बढाउन लागिएको महानिर्देशक गौचनको भनाइ छ । ‘कहाँबाट कसरी किन्ने भन्ने विषय पनि बोर्ड बैठकले टुङ्ग्याउने र सुपथ मूल्य पसल पनि थप हुन्छ,’ गौचनले भने ।
स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी उपत्यकासहित देशैभर दाल, चामल, तेल, चिनी लगायतका अत्यवश्यक बस्तुहरु सुपथ मूल्य पसलमा उपलब्ध हुने महानिर्देशक गौचनले बताए । निजी व्यापारीलाई मर्का नपर्ने तर बजार प्रतिस्पर्धी हुने गरी सुपथ मूल्य पसल चलाइने उनले स्पष्ट पारे ।
मूख्य चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गर्नका लागि वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले समन्वय गर्ने गरी छलफल थालिएको पनि महानिर्देशक गौचनले जानकारी दिए ।
नयाँ आर्थिक वर्ष सुरु भएको एक महिनामा वाणिज्य विभागले ८४ वटा व्याबसायिक र्फमहरुमा अनुगन गरी ४१ वटालाई जरिवाना गरिएको पनि विभागले जनाएको छ ।
(अनलाइनखबरबाट साभार)