सरकारले घटायो बजेटको आकार, राजस्व र खर्चको लक्ष्य नभेटिने

 

काठमाडौं, माघ २९ ।

सरकारले चालु आर्थिक वर्ष २०७६र७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको छ ।

अब बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रूपैयाँ कायम भएको छ । बजेट समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले कुल विनियोजित बजेटको ९०.४ प्रतिशत कायम गरिएको जानकारी दिए । सरकारले यो वर्ष १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट ल्याएको थियो ।

अर्थमन्त्री खतिवडाले फागुन मसान्तसम्म पनि सुरु नहुने आयोजनाका लागि बजेट नदिने बताए ।

बजेटको आकार घटाए पनि आर्थिक वृद्धिदरको लक्ष्य यथावत राखिएको छ । आर्थिक वृद्धिका विषयमा मध्यावधि समीक्षामा मन्त्रालयले केही बोलेको छैन ।

सरकारले राजश्वको लक्ष्य पनि संशोधन गरेको छ । बजेटमा अनुमान गरिएकोमध्ये ९०.५ प्रतिशत मात्रै राजस्व उठ्ने संशोधित अनुमान गरिएको खतिवडाले बताए । यो वर्ष ९ अर्ब ८१ अर्ब १३ करोड ८३ लाख राजस्व संकलनको लक्ष्य थियो । अब ८ खर्ब ८८ अर्ब मात्रै राजश्व संकलन गर्ने गरी लक्ष्य संशोधन गरिएको छ ।

‘नयाँ व्यवस्थामा व्यवसायीहरु नभिजिसकेकाले भन्सार राजश्व संकलन राम्रो हुन सकेको छैन । केही चुनौतीहरु छन्,’ समीक्षामा खतिवडाले भनेका छन् ।

उनका अनुसार साउनदेखि पुससम्म चालु घाटा सुधार भएको छ भने विदेशी लगानी उत्साहप्रद छ र वित्तीय पहुँच बढेको छ । विप्रेषण १ प्रतिशतले मात्रै बढेको छ भने चालू खाता घाटा आधाले घटेको छ ।

विदेशी विनिमय सञ्चिति सुधार भएर कर्जा र निक्षेप बढेको छ, तर वृद्धिदर घटेको छ । नेप्से परिसूचक ८५ अंकले सुधार भएको छ ।
(अनलाइनखबरबाट साभार)