सगरमाथा आरोहण असफल, अन्य हिमालमा आरोही गन्तव्यतर्फ

 

काठमाडौं, कार्तिक ८ ।

यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए ।

तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको संख्या कमी रहेपनि अझै कात्तिक १५ देखि २० गतेसम्म आरोही आउने हुँदा आरोहीको संख्या बढ्नसक्ने पर्यटन विभागले जनाएको छ ।

यो याममा विभिन्न हिमाल तथा हिमशृंखला आरोहणका लागि ५९ देशका आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए ।

विभागको पर्वतारोहण शाखाकाअनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ ले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।

शरद ऋतुको हिमाल आरोहणका लागि बिहीबारसम्म रु ६ करोड १७ लाख ३६ हजार राजस्व संकलन भएको विभागले जनाएको छ ।

सगरमाथा आरोहण असफल

शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको छ ।

यसका साथै ल्होत्से हिमालको आरोहण पनि असफल भएको विभागले जनाएको छ ।

सगरमाथा आरोहणका लागि दुई समूहमध्ये एक समूहमा एकमात्र स्पेनी नागरिकले अनुमति लिएका थिए भने अर्को ९ जनाको आरोही समूहमा अमेरिका र पोर्चुगलका समान चारजना र बेलायतका एक नागरिक थिए । उनीहरुले यो याममा आरोहण प्रयास गरेपनि असफल भएका हुन् ।

सगरमाथाको क्याम्प–२ सम्म पुगेर प्रयास गरेपनि आरोहण अगाडि बढ्न सकेन । अहिले सबै आरोही फर्किसकेको जनाइएको छ ।

यो यममा सगरमाथामा बाक्लो हिउँ पर्ने भएकाले आरोहणमा समस्या हुने गर्छ । (रासस)