मुलुकमा दूध उत्पादन बढ्यो, तर मागअनुसार अझै आपूर्ति हुन सकेन

 

काठमाडौं, साउन २३ ।

मुलुकमा दूध उत्पादन बढे पनि मागअनुसार अझै आपूर्ति हुन नसकेको बताइएको छ । दुग्ध सहकारी संघकाअनुसार विभिन्न १८ सय ७२ सहकारीमार्फत् दूध उत्पादन भइरहेको छ ।

संघका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष दूध उत्पादनमा वृद्धि भएको छ । तर, डेरी संघहरुले भने दूधको अभाव भएको बताउँदै आएका छन् ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघकाअनुसार यस वर्ष दूध उत्पादन गत वर्षको तुलनामा ७ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष साढे ७ लाख मेट्रिकटन लिटर दूध उत्पादन भएको थियो । यो वर्ष ९ लाख मेट्रिकटन दूध उत्पादन भइसकेको जनाइएको छ ।

संघका अध्यक्ष नारायणप्रसाद देवकोटा नेपालमा दूध उत्पादन गर्नका लागि सरकारले सहजीकरण गरे नेपाली कृषकहरुमा दूध विदेशमा निर्यात गर्नसक्ने क्षमता रहेको बताउँछन् ।

यता, डेरीवालाहरुले भने दूधको अभाव नै भएको बताउँदै आएका छन् । प्रतिदिन दुईदेखि साढे दुई लाख लिटरसम्म दूधको अभाव रहेको डेरी एसोसिएसन नेपालले जनाएको छ ।

वैशाखदेखि असोजसम्म सुक्खा सिजन भएकाले यस समयमा दूधको माग अन्य समयमाभन्दा २० प्रतिशत बढ्ने तथा उत्पादन पनि १५ प्रतिशतले घट्ने भएकाले यस सिजनमामात्रै भएपनि पाउडर दूध आयात गर्न दिनुपर्ने एसोसिएसनका महासचिव प्रल्हाद दाहालको भनाइ छ ।

धुलो दूध नेपालमा आयात गर्न बन्द गरेसँगै डीडीसीले १२ हजार ५०० मा पाइने दूधको मूल्य करिब चार हजारले बढाएर १७ हजार ५०० मा बिक्री गरी कालोबजारी गरेको आरोप दाहालको छ ।
(ईमेखबरबाट साभार)