मनाङमा पर्यटक बढे

मनाङ, भदौ २९ ।
अन्नपूर्ण पदमार्ग बिश्वमै चल्तीको पदमार्ग हो । अन्नपूर्ण सहित धेरै पदमार्गहरु नेपालमा पर्यटक लोभ्याउने खालका छन् । त्यसो त नेपालमा पदयात्रा पर्यटन निकै फस्टाएको पनि छ । राउण्ड अन्नपूर्ण भित्र पर्ने मनाङमा पर्यटकको ओइरो लाग्न थालेको छ । पर्यटकीय सिजन सुरु हुनै लाग्दा अहिले दैनिक सय भन्दा बढी पर्यटक मनाङ पुग्छन् ।
लमजुङको बेँशीसहर हुँदै मनाङ भित्रने पर्यटक पैदलयात्रा गरिरहेको देख्न सकिन्छ । मनाङ जिल्लाको ताल–धारापानी–चामे हुँदै माथिल्लो मनाङको पिसाङ, घ्यारु, ङावोल र मनाङ गाउँमा बास बस्छन् । पर्यटकका लागि व्यवस्थित र सुविधाजनक होटलहरु रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
गत वर्ष २२ हजार आठ सय विदेशी र आठ हजार आन्तरिक पर्यटकले मनाङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए । मनाङमा पर्यटक खासगरी थोराङ पास, लार्के पास, र कांला पासका साथै विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकन गर्न रुचाउँछन् ।
मनाङमा पर्ने हिमशृंखला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोका साथै गंगापूर्ण, जुलु पिक, पिसाङ पिक, निलगिरी र तिलिचो पिक जस्ता हिमाल अवलोकन गर्न पर्यटक आउने गरेको पर्यटन व्यवसायी गुरुप्रसाद गुरुङले बताए । बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकलाई आकर्षित गर्न स्थानीय कला–संस्कृति, रीतिरिवाज, भेषभूषालाई प्रदर्शनी कक्ष बनाई प्रदर्शन समेत गरिएको छ ।