पोखरामा प्याराग्लाइडिङको शुल्क बढ्यो

पोखरा, असार १७ ।
पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेटमा वृद्धि गरेको हो ।

प्रतिउडान ८ हजार पाँच सय रुपैयाँ शुल्क रहेकोमा बढेर १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । उक्त शुल्कमा बीमा रकम, यातायात खर्च र पाइलटको खर्च सहित रहेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले बताए । पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ । यही कारणले खर्च बढेको उनको भनाई छ ।

अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको ६ हजार प्राप्त गर्ने छन् । नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् । तीमध्ये ५२ चालु अवस्थामा रहेका छन् । सबै कम्पनीमा गरी करिब ४ सय लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन् ।