फेवाताल किनारको ५ सय संरचना ६ महिनाभित्र भत्काउन सर्वोच्चको आदेश

पोखरा, असोज १० ।
फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन पोखरा महानगर पालिका सहितको विपक्षीको नाममा परमादेश दिएको छ । सर्वोच्चले पूणपाठ सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनको विरुद्ध परेको रिट निवेदनको पूणर्पाठमा सर्वोच्चले फेवातालको वरिपरि वर्षायामको उच्चतम पानीको किनाराबाट ६५ मिटर सम्मको क्षेत्रमा रहेका सबै संरचना ६ महिनाभित्र अनिवार्य हटाउनुपर्ने उल्लेख गरेको छ ।

सर्वोच्चले फेवालतालको मापदण्डसँग सम्बन्धमा परेका पाँचवटा रिटको फैसला गर्दै २०७५ वैशाख १६ गते फेवातालको मापदण्ड ६५ मिटर र बनेका संरचना ६ महिनाभित्र हटाउन असार ४ गते परमादेश दिएको थियो । परमादेशको पूणपाठमा ६५ मिटर सम्मको क्षेत्रमा रहेका घर, भवन, व्यापार व्यवसाय, होटल रेष्टुरा, रिसोर्ट आदि तथा अन्य सबै खाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना यो आदेश प्राप्त भएको मितिले ६ महिना भित्र अनिवार्य रूपमा हटाई खाली गर्न आदेश दिएको छ ।

वि.स. २०१८ साल देखि वि.स. २०३१ सालसम्म कायम रहेको ताल र तालको डिलभन्दा वाहिरको जग्गाको हकमा मात्र कानून बमोजिम मुआब्जा दिनुपर्ने उल्लेख गरेको छ । प्राकृतिक सम्पदा, घाट जलक्षेत्र, वन जंगलको संरक्षणका लागि मापदण्ड तोक्ने अधिकार स्थानीय तहलाई नभएको सर्वोच्च अदालतको पूर्ण पाठमा व्याख्या गरिएको छ । ६५ मिटरभित्र ५ सय भन्दा बढी संरचना छन् ।