मंसिर सम्ममा सबै काम सक्न कर्मचारीलाई मन्त्री लम्सालको निर्देशन

 

पोखरा, साउन २३ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कामप्रति बफादार र लगनशिल भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

वन निर्देशनालयले कास्कीको लुम्लेमा आयोजना गरेको आर्थीक बर्ष २०७५÷०७६ को वार्षिक प्रगति समिक्षा कार्यक्रममाबोल्दै मन्त्री लम्सालले देशप्रति सर्मपित हुँदै लगनशील र कर्मनिष्ठ भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । उनले आर्थिक वर्ष २०७५÷०७६ मा मन्त्रालयले बनाएको योजना सफलता पूर्वक कार्यान्वयन भएको चर्चा गर्दै ढिला गरि प्रदेश स्तरका कार्यालय स्थापना तथा कर्मचारी समायोजन लगाएतका समस्या हुदाँहुदै पनि मन्त्रालयले उत्कृष्ट कार्यसम्पादन गरेकोमा खुसी व्यक्त गरे ।

अघिल्लो आर्थिक वर्षमा हामीले लिएको जिम्मेवारी कार्यान्वयन गर्न मूलभुत रुपमा सफल भएका छौँ, मन्त्री लम्सालले भने,“ आगामी आर्थिक वर्षमा थप सफलता प्राप्त गर्ने गरी नयाँ कार्ययोजना बनाएर लाग्नुपर्छ ।” वजेट कार्यान्वयन गर्ने जिम्मा कर्मचारीकै रहेकाले आर्थिक वर्षको अन्त्यमा मात्र काम थालनी गर्ने परिपाटीको अन्त्य गर्दै मंसिर सम्ममा सबै प्रक्रिया पुरा गरेर काम सम्पन्न गरी बजेट तथा योजनाको पूर्ण कार्यान्वयन हुने गरि काममा खट्न मन्त्री लम्सालले कर्मचारीहरुलाई निर्देशन दिए ।

उद्योग, पर्यटन र वनबाट प्रदेश सरकारको दिगो विकासका लक्ष्य तथा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना र गरीबी निवारणमा टेवा पु¥याउने गरि योजनावद्ध हिसाबले काममा ख्टन उनले आग्रह गरेका छन् ।

कठिन परिस्थितिमा पनि इमान्दारिताका साथ उत्साहित भएर काम गर्न कर्मचारीहरु सक्षम हुने भन्दै उनले कार्य सम्पादन गर्ने क्रममा सुख र दुःख दुवै आइपर्ने उल्लेख गर्दै त्यसमा प्रवाह नगर्न पनि कर्मचारीहरुलाई सचेत गराए ।

मन्त्री लम्सालले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई मन्त्रालयले उचित पुरस्कार तथा सम्मान प्रदान गर्ने समेत घोषणा गरेका छन् । सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै तनहुँका जिल्ला डिभिजन वन अधिकृत केदार बराललाई सम्मानका साथ पुरस्कृत गरिएको थियो ।

मन्त्रालयका गत आर्थिक वर्षका कार्ययोजना, काम गर्दाका चुनौती र भावी योजनाका विषयमा छलफल भएको कार्यक्रम बुधबार सम्पन्न भएको छ ।