ब्यवसायीसँग प्रजु प्यानलले भन्यो–संघलाई कमजोर हुन दिदैनौं

पोखरा, भदौ ३० ।
आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्यानल मतदाता उद्योगी व्यवसायीसँग भेटघाटको लागि शुक्रबार पोखराको सिर्जनाचोक, राष्ट्र बैंक चोक, गणेशटोल, नालामुख पुगेर मतदाता उद्योगी व्यवसायीसँग भेट गरेको छ । अध्यक्ष पदका उमेद्वार प्रजू सहित सिर्जनाचोक पुगेको टिमले भन्यो– पोखरा उद्योग वाणिज्य संघलाई कुनै हालतमा कमजोर हुन दिंदैनौं ।

पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघलाई कमजोर पार्ने प्रयास भैरहेको र केही सीमित व्यक्तिहरुको समूहले संघलाई कब्जा गर्न खोजेको निष्कर्ष यस प्यानलले निकालेको छ । भेटघाटको क्रममा मतदाता व्यवसायीसँग कुरा गर्दै अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले संघलाई व्यवसायीको संघ बनाउन र उद्योगी व्यवसायीको हकहितको लागि काम गर्न आफू र आफ्नो टिमले उमेद्वारी दिएको बताए ।

नेतृत्वमा रहेकै साथीहरुको काम र व्यवहारको कारण पोखरा उद्योग वाणिज्य संघको गरिमामय इतिहासलाई धुमिल भएको र व्यवसायिक हकहितको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको गुनासो भेटघाटको क्रममा व्यवसायीहरुले गुनासो गरेका छन् ।

त्यसको जवाफमा प्रजू प्यानलले भनेको छ–‘विगतमा नेतृत्व लिएका केही व्यक्तिहरुको कमजोरीको कारण संघको छवी धुमिल देखिएको भएपनि त्यसलाई तत्काल सच्याएर संघलाई समावेशी बनाउने र संघको भूमिका महत्वपूर्ण बनाउने छौं ।’