बुद्धिचाल प्रतियोगितामा सागर साई च्याम्पियन
पोखरा, मंसिर ७ ।
खुला बुद्धिचाल (चेस) प्रतियोगितामा पोखराका सागर साई च्याम्पियन बन्न सफल भएका छन्। कास्की जिल्ला बुद्धिचाल संघ आयोजनामा पोखरामा २ दिनसम्म चलेको प्रतियोगितामा ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी च्याम्पियन बनेका हुन् । स्वीस म्यानेजर सिस्टमबाट ७ राउण्डमा खेलाइएको प्रतियोगितामा साईले एकमा बराबरीसहित ६ खेल जित्दै सर्वाधिक ६ दशमलब ५ स्कोर ल्याएका थिए । उनले पुरस्कारस्वरुप नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक राष्ट्रिय आर्विटर नरेन्द्र रानाभाटले जानकारी दिए ।
बुद्धिचाल संघ पोखरा महानगर इकाइका उपाध्यक्षसमेत रहेको साईको र्याङ्किङ १८१५ छ । यसैगरी, स्याङ्जाका सुशील सुवेदी दोस्रो र कास्कीका प्रशान्त गुरुङ तेस्रो भए । उनीहरुले क्रमशः ७ हजार र ५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । सुशील र प्रशान्तले बराबरी ६ खेल जितेकामा स्कोर आधारमा सुशील दोस्रो भएका हुन्।
५० वर्षमाथि भेटेरान्सतर्फ ऋतुनाथ लम्सालले प्रथम भए । नेपाल राष्ट्र बैंक, पोखराका डेप्युटी डाइरेक्टरसमेत रहेका लम्सालले नगद, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
महिलातर्फ प्रशंसा भण्डारी प्रथम, अलिष्मा पनेरु दोस्रो र दिलाशा थापा तेस्रो हुन सफल भए ।
यु–१६ तर्फ शिशिर पौडेल प्रथम, आयुष भण्डारी दोस्रो र नियोन पौडेल तेस्रो भए । ती दुबै इभेन्टतर्फ पनि प्रथम, दोस्रो र तेस्रोलाई नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।
विजयीलाई कास्की जिल्ला बुद्धिचाल संघका कार्यवाहक अध्यक्ष विनोद नाल्मी, कार्यक्रम संयोजक समेत रहेका संघका कोषाध्यक्ष नरेन्द्र रानाभाट, नेपाल राष्ट्र बैंक, पोखराका डेप्युटी डाइरेक्टर ऋतुनाथ लम्साललगायतले पुरस्कार प्रदान गरे ।
पोखरा–४, गैह्रापाटनस्थित केसी क्याटरिङमा २ दिनसम्म चलेको प्रतियोगितामा स्कुले विद्यार्थीहरुसमेतको उल्लेख्य सहभागिता थियो ।
शुक्रबार वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रतियोगिता उद्घाटन गर्दै यस्ता प्रतियोगिताले मानिसको शारीरिक, मानसिक र बौद्धिक विकासमा सघाउ पुग्ने बताएका थिए ।
कास्की जिल्ला बुद्धिचाल संघका कार्यवाहक अध्यक्ष विनोद नाल्मीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका तालिम तथा प्रशिक्षण विभाग प्रमुख सुनबहादुर लामालगायत बोलेका थिए ।
प्रतियोगितामा संघका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक राष्ट्रिय आर्विटर नरेन्द्र रानाभाटसहित परिवेश थापा र अभिनवबहादुर कोइराला आर्बिटर थिए ।


