प्रजु प्यानलमा राखिएका लुईंटेल र सुवेदी दामुतिरै, भन्छन्–सहयोग चाहीँ मागेको हो

पोखरा, असोज ६ ।
पोखरा उद्योग बाणिज्य संघको चुनावका लागि दुईवटा प्यानलतिर जोडिएका नगेन्द्र सुवेदी र रुद्रनाथ लुईंटेलले आफुँहरु प्रजु प्यानलमा नगएको प्रष्टीकरण दिएका छन् । प्रजुको प्यानलमा नाम लिष्ट भएपछि विज्ञप्ती नै निकालेर उनीहरुले दामु प्यानललाई नछोडेको स्पष्ट पारेका हुन् ।

उनीहरुको नाम भएको सूची प्रजु प्यानलले बाँडिरहेको छ । तर प्रजु प्यानल चाहीँ आन्तरिक रुपमा सहमति भएकोले प्यानलमा नाम राखिएको बताउँछ । दुवैजना नेकपा निकट छन् । पछि काँग्रेसमा प्रवेस गर्नेसम्मको सहमति भएको श्रोतको दावी छ ।

‘अर्काको प्यानलको मान्छेको नाम राख्न हामीलाई कुनै मतलव छैन । राख्नेभए अरुको पनि नाम हुन्थ्यो नि, प्रजु प्यानलले भन्यो–हामीसँग सहमति भएको छ । सहमति कै आधारमा नाम राखिएको हो ।’

तर दुवै उम्मेदवारले चाहीँ प्रजु प्यानलसँग आफुँहरुलाई सघाउनुस मात्रै भनेको दावी गरे । ‘सहमतिको कुरा होईन । वहाँहरुसँग ८ सदस्य मात्रै भएपछि हामीलाई सघाउनुस् भन्न गएका हौं, उनीहरु भन्छन्–प्यानलमा नाम राख्ने स्विकृति हामीले दिएका छैनौं ।’ आफुँहरुको मानहानी भएको उनीहरुको टिप्पणी छ ।

प्यानलमा नाम आईसक्यो अव के गर्नुहुन्छ भनेर प्रश्न गर्दा उनीहरु दुवैजनाले कुनै प्रतिक्रिया दिएनन् । उनीहरु दुवैतिरको भोट ल्याएर चुनाव जित्ने दाउमा लागेको बुझिएको छ । श्रोतका अनुसार विवादित दुवै उम्मेदवार पैसा तिरेरै प्रजु प्यानलमा आउन लागेका थिए । तर अधिकारी प्यानलमा पैसा बुझाईसकेको र निर्वाचन नजिकिएकोले आन्तरिक सहमति गर्ने र पछि मिलाउने कुरा भएको छ । उनीहरु अधिकांश समय प्रजु प्यानलसँगको छलफल र चुनावी रणनीतिमा सहभागि भएको श्रोतको दावी छ ।