प्रजापतिलाई खादा लगाइदिएर पोखरेलले भनेः ‘अहिलेको चुनावमा मित्रवत प्रतिश्पर्धा’

पोखरा, भदौ १४ ।
पोखरामा उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि रस्साकस्सी चलिरहेको छ । चुनावमा अध्यक्षका २ आकांक्षी छन् । उनीहरुले प्यानल नै बनाएर घरदैलो गरिरहेका छन् । मतदातासँग मत माग्ने र आफ्ना एजेण्डा सुनाउने क्रम चलिरहेको छ ।

दुवै समुह छुट्टाछुट्टै मत माग्न हिडिरहेका छन् । अध्यक्षका प्रत्यासीहरु हुन्, पवन प्रजापति र अर्जुन पोखरेल । यिनीहरु दुवै अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका थिए ।

आसन्न महाधिवेसनमा उद्योगी व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको २ वर्षे कार्याकालका लागि नयाँ नेतृत्व चुनिने छ । निर्वाचनमा लोकतान्त्रिक प्रतिश्पर्धा गर्ने र प्रतिश्पर्धाबाटै बाहिरिने निधोमा पुगेका छन्, दुवै समूह ।

निर्वाचनमा जितेकोले संघको नेतृत्व गर्छ भने हारेको सल्लाहकारका रुपमा रहन्छ । तर मतले हारजीत भएपनि मनबाट दुवैले जित्ने गरी संस्कारी प्रतिश्पर्धा गर्नुपर्ने प्रत्यासी अर्जुन पोखरेल बताउँछन् । उनले आफ्नो वडामा घरदैलो गर्न आइपुगेको प्रतिश्पर्धी पवन प्रजापतिको टोलीलाई स्वागत गरे ।

पवन प्यानल घरदैलोका लागि आउने थाहा पाएपछि अर्जुन बिहानै हातमा खादा लिएर बसे । आफ्ना प्रतिपर्धीलाई भेट्ने बित्तिक्कै हातमा भएका खादा पवनको गलामा लगाईदिए र जितको शुभकामना दिदैं भने, ‘हारजीत भैहाल्छ, मन हार्नु हुँदैन ।’ आफुहरु एकै ठाउँमा भएको सन्देश दिने फोटो सहित फेसवुकमा उनले लेखेका छन्, ‘आदरणिय दाई पवन प्रजापती र वहाँको टिमलाई मेरो बसाई रहेको वडा १७ मा स्वागत र शुभकामना दिँदै । मेरो सोच ः ‘संस्कार, सम्मानसँगै मित्रवत प्रतिष्पर्धा ।’

पोखरेल पोखरा उद्योग वाणिज्य संघको अहिलेको चुनावलाई मित्रवत प्रतिष्पर्धा भन्न रुचाउँछन् । ‘हामी दाजुभाइमा कुनै तिक्तता छैन्,’ उनले भने, ‘केही कुरा नमिलेको मात्र हो । यो अधिवेशनलाई मैले मित्रवत प्रतिष्पर्धाको रुपमा लिएको छु ।’

पोखरेलको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।