सहमतिपछि कार्कीले उम्मेदवारी राेके, प्रजु प्यानललाई सघाउने

पोखरा, भदौ २५ ।
लामो समयसम्म चर्चा भएर पनि प्यानलमा नपरेपछि पोखरा उद्योग बाणिज्य संघका हालका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की रुष्ट थिए । उनले बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भन्दै मनोनयन पत्र समेत खरिद गरेका हुन् । तर आन्तरिक सहमति पछि उनले उम्मेदवारी भने दिएनन् ।

लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिन लागेका उनलाई प्यानलमा नपारेपछि स्वतन्त्र चुनाव लड्ने तयारी गरेका थिए । तर काँग्रेस कास्कीका सभापति र उम्मेदवारहरु सहितको टोलिले सहमति गरेपछि उनले उम्मेदवारी नदिने निर्णय गरेका हुन् । उनी हालकै पदमा दोहोरिने मनसायमा थिए । तर प्यानलमा नपरेपछि उनले बरिष्ठ उपाध्यक्षमा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका थिए ।

आन्तरिक सहमति भएकोले आफुले उम्मेदवारी नदिएको कार्कीले बताएका छन् । श्रोतका अनुसार उनलाई आगामी दिनमा अवसर दिने सहमति भएको छ । यद्यपी सहमति भने बाहिर आएको छैन । कार्कीले निकै ठूलो त्याग गरेको भन्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले आगामी अवसरमा प्राथमिकता दिने बताएका छन् ।

बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला र यदु अधिकारी बीच प्रतिश्पर्धा हुँदैछ । कोइराला लोकतान्त्रिक प्यानलका हुन भने अधिकारी समावेशी समूहका हुन् । उम्मेदवारी नदिएपछि उनले हालका उम्मेदवार कोइराला र लोकतान्त्रिक प्यानललाई सघाउने बताएका छन् ।