पूर्वाधार विकास कर वृद्धिले इन्धनको उपभोक्ता मूल्यमा फरक पर्दैन : अर्थ मन्त्रालय

 

काठमाडौं, फागुन १६ ।

अर्थ मन्त्रालयले पूर्वाधार विकास कर वृद्धिले इन्धनको उपभोक्ता मूल्यमा फरक नपर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी पूर्वाधार विकास करमा गरिएको वृद्धिले नेपाल आयल निगमको स्वचालित मूल्य प्रणाली र हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने जनाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा केही समयदेखि कच्चा तेलको मूल्य घट्दै गएको अवस्था छ ।

नेपालमा पेट्रोलियम इन्धनको स्वचालित मूल्य प्रणाली लागू भएपनि खुला सिमानाका कारण भारतीय बजारमा प्रचलित मूल्यसमेतलाई आधार मानी मूल्य समायोजन गर्न अनिवार्य हुने मन्त्रालयले जनाएको छ ।

अहिले नै सीमावर्ती भारतमा भन्दा नेपालमा पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ र डिजलमा १५ रुपैयाँ सस्तो रहेको र यस्तो अवस्थामा चोरी–निकासी नियन्त्रण गर्न प्रहरी प्रशासन परिचालन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयको भनाइ छ ।

हाल नेपाल आयल निगमको नाफा एवं वित्तीय अवस्था सहज भएको र अब बढ्ने निगमको नाफा पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त हुने देखिएकाले करको दरमा परिमार्जन गरिएको सरकारी भनाइ छ ।

यसले उपभोक्ता मूल्यमा वृद्धि नगरिकन नै निगमको वित्तीय अवस्था सुदृढ रहने स्थिति रहेको मन्त्रालयको तर्क छ ।

मन्त्रिपरिषद्को गएको सोमबार बसेको बैठकले डिजेल र पेट्रोलमा लगाइँदै आएको पूर्वाधार विकास कर दोब्बर बढाएर १० रुपैयाँ र्पुयाएको थियो ।

(ईमेजखबरबाट साभार)