पश्चिम तराईमा शीतलहरले जनजीवन प्रभावित

 

बर्दिया, पुष १ ।

बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ ।

बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।

शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् ।

शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ ।

चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान(बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया मधुवनका यामप्रसाद शर्माले बताए ।

शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको कृषकले बताएका छन् ।

शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर र्पुयाएको स्थानीयवासी कृषक जयराम चौधरीले बताए । (रासस)