नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घन्टा बन्द हुने

 

चितवन, मंसिर २५ ।

नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घन्टा बन्द हुने भएको छ ।

पहिरो रोकथामको काम गर्न दुईसाताको लागि उक्त सडकखण्ड दिउँसो बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढबाट मुग्लिङतर्फ जाने यात्रुबाहक सवारीलाई १५ किलोमा र मालबाहक सवारीलाई दासढुङ्गामा रोकिने छ ।

त्यस्तै काठमाडौंबाट नारायणगढ जाने यात्रुबाहक सवारीलाई मुग्लिङ्मा र मालबाहक सवारीलाई लेवाटारमा रोकिने जनाइएको छ ।

त्यस्तै पोखरातर्फबाट आउने यात्रुबाहक सवारीलाई बेनिटार र मालबाहक सवारीलाई आबुखैरेनीमा रोकिने प्रहरीले जनाएको छ ।

सडक विस्तारको काम सकिए पनि केही स्थानमा अझै पहिरोको जोखिम रहेकाले रोकथामको काम अगाडि बढाइएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
(ईमेजखबरबाट साभार)