देशका विभिन्न स्थानमा हिमपात र बर्षा : बाँकेमा १० करोड बढीको इँटामा नोक्सानी

काठमाडौं, मंसिर २८ ।
देशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको । हिजोदेखि परेको पानी र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
शुक्रबार दिनभरको वर्षातका कारण बाँकेमा इँटा व्यवसायीले रु १० करोड बढीको नोक्सानी व्यहोर्नुपरेको छ ।
तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले बताए ।
उनका अनुसार शुक्रबारको वर्षाले प्रत्येक इँटा व्यवसायीको रु २० लाखका दरले क्षति भएको अनुमान छ ।
वर्षातले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० इँटा व्यवसायीको अनुमानित सात करोड बढी काँचो इँटा काम नलाग्ने गरी नष्ट पारेको छ ।
एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको बाँकेका इँटा व्यवसायी दीपक अधिकारीले जानकारी दिए ।
यता, सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र शेर्माथानमा हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेमार्थान, ता¥र्के घ्याङ, ठाडेपार्टी, मेलम्ची घ्याङलगाएत उच्च भूभागमा शुक्रबारदेखि हिमपात शुरु भएको हो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ । भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडा आसपासमा हिउँ परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।
हिउँ परेसँगै पर्यटकको पनि घुइँचो लागेको छ । चिसोका कारण वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिला, बालबालिका बढी प्रभावित भएका छन् ।
(ईमेजखबरबाट साभार)