दसैंअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

 

काठमाडौं, भदौ २७ ।

सरकारले दसैंअघि सार्वजनिक सवारी–साधनको भाडा नबढाउने निर्णय गरेको छ ।

भाडा समायोजन नियमित गर्नुपर्ने भएपनि दसैंअगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्नेगरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनकाअनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागिसमेत कार्यक्रम छुट्याइएको छ ।

दसैं, तिहार, छठलगायतका चाडपर्व सकिएपछि त्यसमा अध्ययन भएरमात्रै समायोजन हुने उनको भनाइ छ ।

सरकारले ३५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारी–साधनका ‘पार्टपूर्जा’, जनशक्तिलाई लाग्ने खर्चलगायतलाई आधार बनाएर भाडादर निर्धारण गर्दै आएको छ ।

उनले भने–‘चाडपर्व सकिएपछि नै दुवैलाई आधार मानेर अध्ययन गरेपछि भाडा समायोजन गरिनेछ ।’

राष्ट्रिय यातायात व्यवसायी महासंघले भने नियमितरूपमा भाडा समायोजन गर्नु सरकारको जिम्मेवारी भएको बताउँदै आएको छ ।

महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजनको काम यातायात व्यवसायीको नभएर विभागको भएको बताए । विभागले नियमितरूपमा समायोजन गर्नुपर्नेमा उनको जोड छ ।

उनले भने–‘सात वर्षदेखि ६५ प्रतिशतको आधारमा भाडा समायोजन हुनसकेको छैन । यसतर्फ सरकारले सोच्नुपर्छ, हामीले भन्ने होइन ।’

विभागले गत जेठ महिनामा भाडादर वृद्धि गरे पनि उक्त निर्णय पाँच घन्टामै फिर्ता लिएको थियो ।

वर्षेनि दसैं, तिहार, छठलगायतका चाडपर्वका लागि लक्षित गर्दै अग्रिम टिकट खुलाउँदा भाडा समायोजनको विषय उठ्ने गरेको छ । (रासस)